ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाको परिचय अब यी दुई उपमामा मात्र सीमित रहेन् । आगामी फूलपातीको दिन रिलिज हुन लागेको फिल्म ‘हिम्मतवाली’मा उनी अभिनेत्रीसँगै निर्देशकको रुपमा प्रस्तुत हुँदैछिन् । निकै प्रतिक्षित फिल्मको रुपमा रहेको यो फिल्म रेखाले आफ्नै होमप्रोडक्सन रेखा फिल्मस्मार्फत निर्माण गरेकी हुन् ।
हुन त यो फिल्म निर्देशनको जिम्मा निर्देशक श्याम भट्टराईले लिएका थिए । उपत्यका बाहिर सुटिङ भइरहँदा अभिनेत्री रेखासँग खटपट भएपछि श्यामले फिल्मको काम छाडी राजधानी फर्किएका थिए । यो विषयले फिल्मीबजार निकै तातेको थियो । श्यामले निर्देशनबाट हात झिकेपछि रेखा आफै एक्सन र कट गर्न मैदानमा उत्रिएकी थिईन् ।
फिल्मको प्रचारप्रसारमा व्यस्त रेखाले बुधबार सञ्चारकर्मीमाझ फिल्म निर्देशनको अनुभव सुनाई रहँदा निकै खुशी देखिन्थिईन् । ‘फ्लोरमा काम गर्दा म निर्देशक हो भन्ने कुरा बिर्सिएँ, किनकी मेरो प्राथमिकता अभिनयमा थियो,’रेखा खुलिन्,‘मेरो अभिनयको अनुभवले आफुलाई निर्देशन गर्नुपर्छ भन्ने कुरा नै भुले ।’
फिल्ममा शारीरिक अपाङ्गता भएका सुदर्शन गौतमले पनि अभिनय गरेका छन् । उनले सुदर्शनको अभिनयको पनि खुलेर प्रशंसा गरिन् । ‘म जहिल्यै पनि नयाँ कलाकारलाई प्राथमिकता दिन्छु, सुदर्शनको पनि अन्य नवकलाकार झैं फिल्ममा पहिलो अनुभव थियो, अझ ऊ अभिनय भन्दा बाहिरबाट आएको व्यक्ति हो,’ सुदर्शनबारे रेखाले भनिन्,‘उसमा अलौकिक अभिनय क्षमता छ, अभिनय गर्न शरीर होईन, दिमाग चाहिन्छ भन्ने कुराको पुष्टि सुदर्शनले गरेका छन् ।’