ग्ल्यामर नेपाल, काठमाडौं ।
पाँच वर्ष अगाडी एउटा फिल्म रिलिज भएको थियो, ‘मेरो एउटा साथी छ’। सुदर्शन थापा निर्देशित यस फिल्मको मुख्य भूमिकामा थिए, आर्यन सिग्देल । सहायक भूमिकामा दयाहाङ राई र जीवन लुईँटेल। संयोग कस्तो भने यी सहायक भूमिकामा अभिनय गरेका दुई कलाकार नै अहिले आर्यनको ‘क्लोज कम्पिटिटर ’ भएका छन्। यो भन्दा गज्जबलको संयोगचाही, आर्यनको फिल्म पालैपालो दयाहाङ र जीवनसँग जुध्दैछन्। आर्यन आफैंले बनाएको फिल्म ‘नोभेम्बर रेन’ दयाहाङको ‘कब्बड्डी’सँगको भिडेको थियो, १२ वैशाखमा। समिक्षा र व्यापार दुवै हिसाबले ‘कबड्डी’ अगाडी रह्यो। अब आर्यनको भिड्ने पालो आएको छ, जीवनसँग। आउँदो शुक्रबारबाट आर्यन अभिनित ‘लज्जा’ र जीवन अभिनित ‘स्टुपिड मन’ एकसाथ रिलिज हुँदैछन्। फेरि यी दुई फिल्म यस्तो बेला रिलिज हुँदैछन्, जतिबेला जीवनले छोडेको भनिएको फिल्म ‘नाईँ नभन्नु ल ३’मा आर्यन अनुबन्धित भएको खबरले फिल्मवृत्त तातिरहेको छ। त्यसैले चकलेटी मुहारका यी हिरोको भिडन्त निकै रोमाञ्चक हुने ठानिएको छ।
नवल नेपाल निर्देशित फिल्म ‘लज्जा’मा आर्यनले शिल्पा पोखरेलसँग रोमान्स गरेकी छिन्। आर्यनको लोकप्रियता ओरालो लागेको ठानेर हो वा शिल्पालाई स्थापित गराउन, निर्माता छविराज ओझाले प्रमोशनमा आर्यनलाईभन्दा शिल्पालाई बढी स्थान दिएका छन्। उसैपनि फिल्म नारी केन्द्रित भनिएको छ।
उता, दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म ‘स्टुपिड मन’ म्युुजिकल लभस्टोरी हो। गीतसंगीतका कारण फिल्मले निकै हाइप पाइरहेको छ। हिरो निरज बरालको लगानी रहेको यस फिल्ममा जीवनले नवनायिका चाँदनी शर्मासँग रोमान्स गरेका छन्। चाँदनी हाल जापानमा छिन्। त्यसैले पनि जीवनलाई प्रमोशनको पहिलो अस्त्र बनाउनु निर्माण पक्षका लागि बाध्यता जस्तै बनेको छ।
अब दर्शकले हेर्नेछन, स्टारपावरको परीक्षामा आर्यन र जीवनमध्ये को बढी अब्बल हुनेछ ?