ग्ल्यामर नेपाल, काठमाडौं ।
आफू अभिनीत फिल्म, त्यो पनि डेब्यु, दर्शकसँगै बसेर हेर्ने सपना कसको नहोला र ? ‘स्टुपिड मन’की नायिका चाँदनी शर्माको पनि यही चाह थियो तर फिल्म खेल्ने सपना पुरा भएपनि दर्शकसँगै बसेर हेर्ने सपना भने पुरा नहुने छाँटकाँट देखिएको छ । ‘स्टुपिड मन’ ७ कात्तिकमा रिलिज हुँदैछ तर जापानमा रहेकी चाँदनी नेपालमा आउने सम्भावना निकै भएको निर्माण युनिटले जानकारी दिएको छ।
भिषा प्रक्रिया नमिलेका कारण चाँदनीले दर्शकबाट प्रत्यक्ष प्रतिक्रिया लिने अवसर गुमाउने भएकी हुन्। फिल्मको ट्रेलर र गीत/संगीत हिट रुचाइएपछि उनी निकै उत्साही बनेकी छिन् । नेपाल आएर प्रमोशनमा खट्न नपाएपनि उनले जापानबाटै फेसबुकमार्फत फिल्मको प्रमोशन गरिरहेकी छिन्। दिवाकर भट्टराईले निर्देशन गरेको यस फिल्ममा उनले थाइल्याण्डमा बस्ने नेपाली युवतीको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा हिरो निरज बरालको लगानी छ। निरज र चाँदनीसहित फिल्ममा जीवन लुईटेल, मार्टिन खान र नवनायिका रिजु श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ।
