ग्ल्यामर नेपाल, काठमाडौं ।
बलिउड फिल्म ‘मेरी कोम’ बाट चर्चित अभिनेता सुनिल थापा बलिउडको प्रतिष्ठित ‘फिल्म फेयर अवार्ड’को ‘बेष्ट एक्टर सपोर्टिङ रोल मेल’को मनोनयनमा परेका छन् । सञ्जयलीला भन्सालीले निर्देशन गरेको यो फिल्ममा सुनिलले अभिनेत्री प्रियंका चोपडाको खेल प्रशिक्षकको भूमिका निर्वाह गरेका छन् ।
बलिउड फिल्म ‘एक दुजेके लिए’बाट अभिनयमा डेब्यु गरेका सुनिल नेपाली फिल्म ‘चिनो’मा खलनायकको भूमिकामा अभिनय गरेपछि नेपाली दर्शकमाझ चर्चित बनेका थिए । उक्त फिल्ममा राँते काइलाको भूमिका निभाएका उनलाई धेरैले अहिले पनि रातेकाइलाकै रुपमा चिन्ने गर्दछन् । उनले करिब सय बढी नेपाली फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका छन् ।
