काठमाडौं । प्रेम, एक्सन र थ्रिलर शैली फ्लेबरका फिल्म बजारमा छाइरहेका बेला यो विधा भन्दा अलिक भिन्न बाल मनोविज्ञानलाई विषय बस्तु बनाइएको फिल्म ‘छाँया’ निर्माण भएको छ । भ्वाईस अफ चिल्ड्रेनको निर्माण र इन्टेक्ट मिडियोका प्रस्तुतिमा निर्मित फिल्मका लेखक तथा निर्देशक मनोज पण्डित हुन् ।
फिल्मको फष्टलुक र ट्रेलर सार्वजनिक गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक पण्डितले किशोर अवस्थाका बालबालिकाको भावना, यौन तथा शारीरिक सम्बन्ध, नयाँ मानिससँगको सहज आकर्षणलगायतका विषयलाई फिल्मले प्राथमिकता दिएको बताए । ‘हामीले फिल्ममा किशोरावस्थाका बालबालिकामा पर्ने मनोवैज्ञानिक असरको बारेमा सरल र संवेदनशिल ढंगबाट प्रस्तुत गरेका छौं,’निर्देशक पण्डितले भने,‘मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै एउटा परिवारको पीडादाय संघर्षलाई पनि फिल्ममा देखाइएको छ ।’
कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनका निर्देशक कृष्णकुमार थापाले फिल्मले सन्तानलाई मायासँगै वेवास्ता गर्ने र उनीहरुलाई दुव्यर्वहार गर्ने विषय उठान गरेकाले अभिभावकले फिल्म हेर्नुपर्नेमा जोड दिए । फिल्ममा अनुपर बराल, प्रकाश घिमिरे, अरुणा कार्की, साइब्रत आचार्य र प्रविना खड्काले प्रमुख भूमिकामा अभिनय गरेका छन् । निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन रहेको छ । कार्यक्रममा फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । फिल्मको रिलिज मिति तोकिएको छैन ।
