किराती मौलिक पहिचान तथा सांस्कृतिक संरक्षण सहयोग पुर्याउने उद्देश्यले किरात राई मौलिक कला सांस्कृतिक केन्द्रले मिस राई २०१६ को आयोजना गर्ने भएको छ। विगत वर्षहरूदेखि नियमित रूपमा आयोजना गर्दै आएको मिस राईको यो चौथो संस्करण हो।
संसारभरि छरिएर रहेका किरात राईहरूको प्रतिनिधित्व हुने गरी मिस राई छनोटको कार्यक्रम गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अर्पण राईले जानकारी दिएका छन्। विशेष गरी विश्वमा रहेका विभिन्न किसिमका प्रतिस्पर्धाहरूमा किरात राईहरूको समेत उपस्थिति जनाउन प्रतियोगिता गराउँदै आएको राईले बताए।
छुट्टै भाषा, संस्कृति र संस्कार रहेको किरात राई समुदायभित्रका फरकफरक भाषिक समुदायको समुच्च प्रतिनिधित्व हुनेगरी मिस राई २०१६ को आयोजना गरिने उनले बताए। किरात राईहरूको साझा प्रतिनिधि खोज्न तथा किरात राई समुदायभित्रका नारी प्रतिभालाई विकास एवं निख्खारता ल्याउन यो कार्यक्रमले मद्धत गर्ने अपेक्षा गरेको आयोजक संस्थाले अपेक्षा गरेको राईले बताए।
आगामी फागुन महिनामा सञ्चालन हुने प्रतियोगिताका लागि आवेदन फारम खुला गरी माग पहिलो हप्ताभित्र पहिलो चरणको छनोट प्रक्रिया सकिनेछ। अध्यक्ष राईका अनुसार पूर्वक्षेत्रको छनोट माघ २ गते र काठमाडौं केन्द्रका लागि माघ ८ गते पहिलो चरणको छनोट कार्यक्रम गरिनेछ। यसरी छानिएका सहभागीहरूलाई विभिन्न किसिमको व्यक्तित्व विकाससम्बन्धी तालिम, किरात राईहरूको संस्कार संस्कृतिबारे प्रशिक्षण, कोरियोग्राफी तालिम दिइनेछ। एक महिने बन्द प्रशिक्षणमा राखेपछि प्रतिस्पर्धीहरूलाई अन्तिम चरणको छनोटमा पठाइने आयोजक संस्थाले बताएको छ।
मिस राई २०१६ मा विनर हुने सहभागीले सिटिभी मोबाइलको तर्फबाट सामसुङ एससिक्स मोबाइल तथा फस्ट रनरअप (वंश चुल्हो) सेकेण्ड रनरअप (कुटुम्भ चुल्हो) र थर्ड रनरअप (समाज चुल्हो) २०/२० हजार रुपैयाको पुरस्कार प्रदान गरिने छ। अन्य सहभागीलाई विभिन्न टाइटलहरूले सम्मान गरिनेछ। उनीहरूलाई संस्थाको अभिभावकत्वमा रहने गरी किरात राईहरूको ऐतिहासिक स्थलहरूको अध्ययन भ्रमणसमेत गराइने केन्द्रका अध्यक्ष राईले बताएका छन्।









