पहिलो ‘नेपाली म्युजिक भिडियो अवार्ड’ यूएइको अवुधावीमा हुने


सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अवुधावीमा पहिलो पटक अन्तरराष्ट्रिय रुपमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुँदैछ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा आयोजक संस्थाले जानकारी दिएको छ। संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्स्ले यो अवार्ड आयोजनामा सहकार्य गर्नेछ।

Music-Video-Award

पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ। अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको जम्बो टोली यूएइ पुग्नेछन्।

अवार्डमा चलचित्र क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरिनेछ। गतबर्षको ‘पपुलर चलचित्र, पपुलर निर्देशक, पपुलर नायक र पपुलर नायिका’लाई सम्मान गरिनेछ। यस्तै, यूएइमा बसेर नेपाली संगीतमा लागिरहेका संगीतकर्मीलाई पनि सम्मान गरिनेछ।

यूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै थापाले आफू यूएइ फर्किएपछि अवार्डको प्रचार र तयारी सुरु गर्ने बताए। उनले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए।

आयोजक मध्येका अर्का एक महेश गिरीले आफूले पनि म्यूजिक भिडियोमा अभिनय गरेको बताए। उनले दुबई, अवुधावीमा पुगेर बलिउड चलचित्रको छायांकन हुने, अवार्ड हुने भन्दै अब नेपाली म्यूजिक भिडियो अवाडले नयाँ शैलीको ढाँचा कोर्ने बताए। उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए।

संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए। उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको बताउँदै अवार्डमा कुनै धाँधली नहुने स्पष्ट पारे। नेपाली म्यूजिक भिडियोको दुनियाँलाई विश्व बजारमा पुर्‍याउनका लागि यो अवार्डको सुरुवात गरिएको उनको भनाई थियो।

SUBSCRIBE 👉