ईतिहाँस रच्दै ट्रान्सजेन्डर नेपाली मोडल अन्जली लामा


नेपाली मोडलिङ क्षेत्रमा फरक पहिचान बनाएकी तेस्रोलिंगी मोडल अञ्जली लामा यतिबेला मिडियाहरुमा भाइरल बनिरहेकी छिन्। भारतमा प्रतिष्ठित एवं अन्तर्राष्ट्रियस्तरको मानिने ‘लेक्मी फेसन विक’मा क्याट वल्क गर्ने अवसर पाएपछि उनको चर्चा चुलिएको हो। डेली मेल, वाशिंटन पोस्ट, आज तक, एसियन एज, साउथ लाईभ लगायतका विभिन्न सञ्चार माध्यमहरुमा उनि छाइरहेकी छिन्।

लेक्मी फेसन विकको अठार वर्षे इतिहासमा यस अघि कुनै पनि तेस्रोलिंगी मोडलले सहभागिता जनाएको थिएन। यस फेसन सप्ताहमा अञ्जली लामा पहिलो तेस्रोलिंगी मोडल बनेकी छन्। लेक्मी फेसन विक’मा फेब्र्रुआरी १ तारिक देखि हुँदै छ। गत डिसेम्बर १४ मा यसका लागि अञ्जलीले अडिसन दिएकी थिइन्। गत वर्ष पनि उनले अडिसन दिएकी थिइन् तर पहिलो प्रयास असफल भए पनि हिम्मत नहारी पुनः दोस्रो पटक उनले प्रयास गरेकी हुन्।

नुवाकोटमा जन्मिएकी अन्जली लामाको वास्तविक नाम नवीन वाइबा हो। उनले मिडियासँग आफूले बाल्यकालमा भोगेको भेदभाव र अनुभव पनि बाँडेकी छन्। अध्ययनका लागि राजधानी काठमाडौं आएपछि मात्रै आफूजस्तै मान्छेसँग भेट्न पाएको उनले बताएकी छन्। आफूलाई त्यो समयमा पीडा दिनेको नाम नखुलाए पनि आफ्नै घरपरिवारले स्वीकार नगर्दाको पीडा भने व्यक्त गरेकी छन्। ‘जब मेरो परिवारले म तेस्रोलिंगी हुँ भन्ने थाहा पाए, तँ हाम्रो लागि आजदेखि मरिस् भने’, उनले दुःखेसो पोखेकी छन्। तर आमाले भने आफूलाई सधैं साथ दिएको उनको भनाइ छ। ‘मम्मी नै मेरो प्रेरणा हुन् जसले मलाई साहस भरिदिइन्, मेरो निर्णयमा साथ दिइन्’, अञ्जलीले भनेकी छन्। तर एतिबेला उनकी अामा याे संसारमा छैनन्।

काठमाडौंमा अञ्जलीले सन् २००७ मा तेस्रोलिंगीहरूको साझा संस्था नीलहीरा समाजले आयोजना गरेको ‘मिस पिन्क’ प्रतियोगितामा सहभागी भएकी थिइन्। त्यसपछि उनी बैंककको पतायामा भएको ‘मिस इन्टरनेसनल क्विन’मा सहभागी भईन। ‘लेक्मी फेसन विक’जस्तो लोकप्रिय फेसन इभेन्टमा क्याट वल्क गर्ने मौका पाउनुका साथै संसारभरका सञ्चार माध्यमले महत्व दिएपछि उनी एउटै कार्यक्रमबाट झनै चर्चामा आएकी हुन्। यो अवसरले आफ्नो मोडलिङ करियरलाई उचाइमा पुर्याउने अञ्जलीले आशा राखेकी छिन्।

SUBSCRIBE 👉