गायिका देवीका बन्दनाको चर्चा : भारतीय सांगीतिक यात्रा सुखद रहने संकेत


गायिका देवीका बन्दनाको श्रुतिमधुर स्वरले नेपाली श्रौता त लट्ठ थिए नै। अब उनको लोकप्रियताको दायरा थप फराकिलो भएको छ। उनले हिन्दी गीतमा स्वर भरेर भारतभर नाम कमाएकी छन्। त्यो पनि गिनेचुनेको म्युजिक कम्पनी र चर्चित गायक सँग। जी म्युजिक कम्पनीले बजारमा ल्याएको ‘वश तेरा नाम…’बोलको यस गीतमा उनी संगै कुनाल गन्जवालाको सुमधुर स्वर सुन्न पाइन्छ। यो गीत र यसको म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीले गत बिहिबारमात्र युट्युब र भारतीय एफएमहरुबाट सार्वजनिक गरेको हो।

त्यसो त उक्त गीतमा हिन्दी शब्द मात्र छैनन्, नेपाली शब्द पनि मिसाइएको छ, ‘कान्छाले कान्छीलाई हेर बोलायो, सुसेली हालेर लैबरी लैबरी लै।’ युग भुषालद्वारा लिखित यस गीतको कम्पोजर विजेश पौडेल हुन्। गीतलाई भारतीय अडियन्सले पनि औधी रुचाएका छन्।

भारतमै बसेर गीत रचना र संगीत निर्देशनको काम गर्दै आएका युग भुसाल मार्फत बन्दनालाई जी म्युजिक कम्पनीले बोलाएको थियो। यो गीतको संगीत र एरेन्जको कार्य नेपालमै भएको थियो भने रेकर्डिङकालागि उनी जी म्युजिकको आग्रहमा मुम्बई पुगेकी थिइन। गीतलाई कैलाश खेर स्टुडियोमा रेकर्डिङ गरिएको हो।

भारतीय म्युजिकमा गायिका देवीका बन्दनाको यात्रा सुखद रहने संकेत देखिएको छ। किनभने जी म्युजिकले उनको स्वरमा अर्को गीत पनि रेकर्ड गराएको छ।

आधुनिक गीतमा जमेकी यी गायिका भन्छिन्, “जी म्युजिकका सदस्यहरुले भारतीय कलाकारकोभन्दा भिन्न स्वर रहेको भनेर तारिफ गर्दा निकै खुशी लाग्यो । यसले मलाई अगाडी बढ्न थप हौसला दिएको छ।”

बन्दना र कुनालको स्वरले जति प्रसंशा पाएको छ, भिडियोले पनि त्यतिकै ध्यान आकृष्ट गरेको छ। कम्पोजर पौडेलले नै निर्देशन गरेको भिडियोमा जोमसोम, मार्फा, कागवेनीजस्ता स्थानका मनोरम र आकर्षक दृश्य देख्न पाइन्छ। निकै फ्रेस लोकसनमा यसलाई प्रमोद कार्कीले खिचेका हुन्। जसमा नेपालका मोडल प्रत्युषमान सिंह वैद्य र मुम्बईकी मोडल विना हसनलाई फिचरिङ गरिएको छ।

‘वश तेरा नाम…’बाट प्राप्त सकारात्मक प्रतिक्रियाले भारतीय म्युजिकमा बन्दनाको यात्रा सुखद रहने संकेत देखिएको छ। किनभने जी म्युजिकले उनको स्वरमा अर्को गीत पनि रेकर्ड गराएको छ। ‘पेहेली पेहेली…’ बोलको यो एकल गीत पनि कैलाश खेर स्टुडियोमै रेकर्डिङ भइसकेको छ।

SUBSCRIBE 👉