क्यालिफोर्नियामा नयाँ मिस नेपाल छानिदै


अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुने भएको छ। अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा दोस्रो संस्करणको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुन लागेको हो। यसअघि सोही संस्थाले सन् २०१५मा पहिलो संस्करणको कार्यक्रम आयोजना गरिसकेको थियो। सन्तोष न्यौपाने, सागर श्रेष्ठ र जोशी बाबुको संयुक्त प्रयासमा दोस्रो संस्करणकोे प्रतियोगिता आयोजना हुन लागेको होे।

जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। अनलाइन आवेदन तथा अडिसन मार्फत आवेदन परेका करिब दुई दर्जन युवतीबाट अन्तिम १० को नाम तय गरिएको आयोजकले जनाएको छ। यसरी अन्तिम १० मा परेकी प्रतियोगीलाई पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले कोरियोग्राफ गर्ने आयोजकले जनाएका छ।

आयोजक संस्थाका सन्तोष न्यौपानेका अनुसार कार्यक्रममा अभिनेत्री नन्दिता केसीले कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछिन् भने नेपालका चर्चित स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम होस्ट गर्दैछन्। अन्तिम प्रतिस्पर्धाका लागि सदिक्षा पोखरेल,अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, अनिता चौंलागाइँ, रचना पोखरेल, डिप्ली फाजु, गायत्री बराल, परिशा रानाभाट र ओसिन रायमाझी छनोट भएका छन् । उनीहरुलाई कलाकार सुनिल थापा, गायिका नलिना चित्रकार, आरजे सुमित सिग्देल, राजन गिरी र नबिना बस्नेतले छनोट गरेका हुन्।

सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले पनि प्रतियोगिता सहभागिता हुन र प्रतियोगीसँग आफ्नो अनुभव साट्न आतुर रहेको बताएकी छिन्। प्रतियोगीको ड्रेस डिजाइनको काम भने शुभेच्छा भडेलले गरिरहेकी छिन्।

अमेरिकामा रहेका युवतीको प्रतिभा फ्रष्फुटनसँगै समाजसेवाको उद्देश्य राखेर कार्यक्रम आयोजना गरिन लागेकोे आयोजकले जनाएको छ। यसका लागि आयोजकले कार्यक्रममा लागेको खर्च कटाएर बाँकी रहेको रकम नेपालको कुनै क्षेत्रमा खर्चन बताएको छ।

आयोजकहरुले अघिल्लो संस्करणमा कार्यक्रमको खर्च कटाएर उठेको २३ लाख रुपैंया गोरखाको एक विद्यालय निर्माणका लागि दिएको बताए। यो साल पनि कार्यक्रमको खर्च उठाएर बचेको पैसा त्यसरी नै कुनै न कुनै सामाजिक काममा खर्चने बताएका छन्।

SUBSCRIBE 👉