डेस्टिनेशन काठमाडौंले पूर्णता पाउँदै


Dilip Rayamajhi and Sarah Mawbey

Dilip Rayamajhi and Sarah Mawbey

ग्ल्यामर नेपाल, काठमाडौं। स्व. दीपक रायमाझीको महत्वाकांक्षी फिल्म ‘डेस्टिनेशन काठमाडौं’को सुटिङ गर्न बाँकी रहेको भागको काम शुरु हुने भएको छ। तीन वर्ष अघि ‘रहस्यमय’ किसिमले निर्देशक रायमाझीको निधन भएपछि रोकिएको फिल्मको छायांकनले आगामी जेठ २ गतेबाट पूर्णता पाउने भएको हो। फिल्ममा सहायक निर्देशकको रुपमा काम गरिरहेका निर्देशक मधुसुदन भट्टराईले आफ्ना प्यारा निर्देशकको अपूर्ण कामलाई पूर्ण बनाउन आफ्नो सक्रियता देखाउन लागेका हुन्।

‘पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ फिल्म बनाईरहँदा निर्देशक रायमाझीको दुःखद निधन भयो, उहाँले यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्टका रुपमा लिनुभएको थियो,’हाल फिल्म निर्देशनमा सक्रिय निर्देशक भट्टराईले भने,‘उहाँकै नाम राखेर फिल्मलाई पूर्णता दिने उद्देश्यसहित काम गर्न लागेका छौं ।’ नेपाल र अष्ट्रेलियामा छायांकन गरिने फिल्मको नेपाल भित्रको सबै काम निर्देशक रायमाझीले गरिसकेका थिए । निर्देशक भट्टराईले अष्ट्रेलियामा गएर फिल्मको छायांकन गर्दा गार्हो पर्ने भएकाले नेपालमै सुटिङ गरेर त्यसलाई भीएफएक्स प्रविधिमार्फत अष्ट्रेलियाको दृश्य समेटिने जानकारी दिए। उनका अनुसार २५ प्रतिशत सुटिङ बाँकी रहेको दृश्यमा देशको समसामयिक राजनीतिक अवस्थालाई पनि चित्रण गरिने छ।

Dilip Rayamajhi and Sarah Mawbey

Dilip Rayamajhi and Sarah Mawbey

जनपुकार मिडिया हाउस प्रा.लि.को व्यानरमा निर्माणाधिन फिल्ममा शरद अधिकारी निर्माता रहेका छन्। फिल्ममा दिलिप रायमाझी, झरना थापा, अष्ट्रेलियन नायिका सहारा माओवे, सविन श्रेष्ठ, रवि गिरी, रवि खड्का, रामचन्द्र अधिकारी, कृष्णहरि शिवाकोटी र सुष्मा कार्कीको अभिनय रहेको छ। रमेश खड्का, अर्जुन पोखरेल र प्रदिप उपाध्यायको संगीत, हिमाल केसीको द्वन्द्व, कमल राई र राजु शाहको नृत्य रहेको फिल्ममा राजु थापा र शिव ढकालको छायांकन रहेको छ।

स्मरण रहोस्, महानायक राजेश हमाल स्व. निर्देशक रायमाझीका भाञ्जा पर्छन्। मामाको निधनपछि यो फिल्मको आफै निर्देशन गरेर पूर्णता दिने हमालले बताएपनि उनले आफ्नो प्रतिबद्धता पुरा गर्न नसकिरहेको बेला फिल्म युनिटले नै फिल्मलाई पूर्णता दिन लागेको हो।

SUBSCRIBE 👉