एस्तो छ सात वर्षपछिको महजात्रा (फोटो फिचर)


maha-jatra-2071-madankrishna-shrestha-haribansha-acharya (19)
ग्ल्यामर नेपाल, काठमाडौं । देशमा भईरहने राजनीतिक घटनाक्रम हाँस्य कलाकारका लागि प्रहसनको मसला बन्दछ। नेताको कुर्सी मोह, प्रहरीको क्रियाकलाप, जातीयताको कुरा वा अन्य राजनीतिले छुने विषय हुन्, यी मसला मिसाएर बनाएको प्रहसन दर्शकका लागि हसाउँने खुराक नै हुन्। राजधानीमा शुक्रबारदेखि शुरु भएको चर्चित हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह)को ‘टुबोर्ग महजात्रा २०७१’मा पनि दर्शकले नेपाली राजनीतिको व्यंग्यात्मक झल्कोलाई प्रत्यक्ष देख्न पाउछन्।

कार्यक्रमको शुरुमै महजोडी ‘ईश्वर तिमीले’ बोलको व्यंग्यात्मक मह प्रार्थनाका साथ स्टेजमा प्रस्तुत हुन्छन्। आफ्नै शब्द र स्वर तथा जेबी टुहुरेको संगीतमा बनेको यो गीतमा ईश्वरले नेपालमा राम्रो मान्छे पठाउन बिर्सिएको कुरालाई घुमाउरो पाराले प्रस्तुत गरिएको छ। मह प्रार्थना पछि स्टेजमा झुल्किने हाँस्यकलाकारत्रय किरण केसी, राजाराम पौडेल र शिवहरि पौड्यालले नेपालीले सीमामा भोगेका समस्यालाई ‘बोर्डर चेकपोष्ट’ प्रहसनमार्फत प्रस्तुत गरेका छन्। प्रहसनले नेपाल भारत सीमामा नेपालीले भोग्ने समस्या, राजनीतिक दलको अदुरदर्शी क्रियाकलाप, चेलिबेटी बेचविखन नियन्त्रण गर्न खटिएका प्रहरीको व्यवहारलाई यो प्रहसनले छर्लङ पारेको छ। भारतीय प्रहरी बनेका किरण केसी, नेपाल प्रहरी बनेका राजाराम पौडेल र नेपाली नागरिकको भूमिकामा देखिएका शिवहरि पौड्यालको अभिनय जीवन्त छ।

नेताहरुले गर्ने जातीय राज्यको कुराले आम मानिसमा कस्तो प्रभाव पारेको छ भन्ने विषयलाई प्रस्तुत गर्ने महको ‘शब्दान्तक्षरी’प्रहसनले दर्शकलाई जातीय राज्यको दुर्दशा झल्काउँछ। यो प्रहसनमा मदनकृष्ण बाहुनबहादुर र हरिवंश नेवारबहादुरको रुपमा प्रस्तुत भएका छन्। यो प्रहसनमा अभिनेत्री बसुन्धरा भुषाल र हरिवंश कलाकार पुत्र मोहितवंशलाई पनि देख्न सकिन्छ। महजोडीकै अर्को प्रहसन ‘म डनको फोटो स्टुडियो’ मुलुकमा बढ्दो दण्डहिनता र गुण्डागर्दीको प्रभावलाई प्रस्तुत गरेको छ। फोटो स्टुडियो सञ्चालक बनेका मदनकृष्णलाई खुंखार डनको रुपमा देख्न सकिन्छ भने आम नागरिक बनेका हरिवंशले आर्थिक संकट परेपछि कसरी डनको संगत गर्न थाल्छन् भन्ने कुरालाई रोचक रुपमा प्रस्तुत गरिएको छ।

महजात्राको अन्तिम प्रहसनको रुपमा महजोडीको ‘विकास र भ्रष्टाचार’ नामक गिती प्रहसन पनि मार्मिक किसिमको छ । भ्रष्टाचारी बनेका हरिवंश र विकासमुखी बनेका मदनकृष्णको गिती अभिनय आफैमा चित्त बुझ्दो छ । विकासको पछाडि सधैं भ्रष्टाचार दौडी नै रहेको हुन्छ भन्ने उदाहरण यो प्रहसनले देखाएको छ।

कार्यक्रमलाई थप रोचक र रमाइलो बनाउन नायक दिलिप रायमाझी, नायिका अनु शाह, कलाकार रश्मी तामाङले आकर्षक नृत्य गरेका छन् भने गायिका मल्लिका कार्कीको गायकी कलाले पनि दर्शकलाई मन्त्रमुग्ध पार्दछ। कार्यक्रम आगामी जेठ ८ गतेसम्म राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा चल्नेछ।

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉