चलचित्र संघमा नकिम सर्वसम्मत निर्वाचित


nakim-uddin
ग्ल्यामर नेपाल, काठमाडौं । फिल्म प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघको १२ औं अध्यक्षमा क्युएफएक्स सिनेमाका अध्यक्ष नकिम उद्धिन सर्वसम्मत निर्वाचित भएका छन्। संस्थाको शनिवार सम्पन्न ४२ औं साधारणसभाले उनी र उनको कार्यसमितिलाईलाई सर्वसम्मत निर्वाचित गरेको हो।

नयाँ कार्यसमितिमा देवेन्द खड्गी, अशोक शर्मा, अर्जुन श्रेष्ठ, निरज पौडेल, मधुसुदन प्रधान, गोविन्द श्रेष्ठ, नारायणप्रसाद शर्मा, वीरेन्द्रनारायण श्रेष्ठ, मिजास पोखरेल सदस्य रहे भने श्रीरत्न मानन्धर (प्रदर्शन समिति सभापति), शैलेन्द्रकुमार कर्माचार्य (प्रदर्शन समिति उपसभापति), हरिराम बराल (वितरण सभापति), गोपाल काजी कायस्थ (उपत्यका सभापति) र अनोद श्रेष्ठ (पश्चिमाञ्चल सभापति) बने।

यसअघि सभाको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले नेपाल चलचित्र विकास बोर्डलाई फिल्मसँग सम्बन्धित सबै संघसंस्थाको अभिभावक बनाउनुपर्नेमा जोड दिएका थिए। नेपाल चलचित्र विकास बोर्डको क्रियाकलाप र निस्क्रियता प्रति आम फिल्मकर्मी रुष्ट बनिरहँदा पौडेलको यस्तो भनाई आएको हो । पौडेलले फिल्मसँग सम्बन्धित संघसंस्थाको एकताले मात्र आम फिल्म क्षेत्रको विकास हुने बताए।
उनले फिल्मले आम दर्शकमा प्रत्यक्ष छाप छोड्ने भएकाले सकारात्मक किसिमका फिल्म बनाउनुपर्ने जनाए। ‘समग्रमा शिक्षामूलक फिल्म बन्नुपर्छ, जसले व्यावसायिकतालाई पनि पछ्याएको होस्,’उनले भने,‘फिल्म उद्योगले कम गुनासो र बढि व्यावसायिकतालाई ध्यान दिनुपर्छ।’ सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले फिल्मको विकासमा सरकार गम्भीर बनेको बताए।

कार्यक्रममा संघका अध्यक्ष राजकुमार पोखरेलले मोफसलमा पनि राम्रा खालका फिल्म हलको निर्माण हुनु सकारात्मक कुरा भएको जनाए। दुई वर्षे कार्यकाल चलाएका पोखरेलले फिल्म क्षेत्रलाई आशामुखी नभइ पुर्ण रुपमा व्यवसायी बनाउन आफ्नो कार्यकालमा गरेको कोशिस कोही हदसम्म सफल बनेको दाबी गर्दै संघ र नेपाल चलचित्र निर्माता संघबीचको सम्बन्ध पनि सुमधुर बनाएको बताए। कार्यक्रममा संघका विभिन्न क्रियाकलापमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई कदरपत्र प्रदान गरिएको थियो।

SUBSCRIBE 👉