गायक तथा संगीतकार उत्तम थापाको ‘यो यात्रा’


गायक तथा संगीतकार उत्तम थापाले गाएका एकल गीतहरुको चौथो संग्रह ‘यो यात्रा’ राजधानीमा एक कार्यक्रमका गर्दै सार्वजनिक गरिएको छ। गायक थापाका सांगीतिक गुरु गुरुदेव कामत, संगीतकार राजु सिंह सहितका व्यक्तित्वले एल्बम सार्वजनिक गरेका हुन्।

सार्वजनिक एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन्। उत्तम थापा मगर, मनोज धमला, डिपी खनाल, ओम सुनार तथा सुमन लम्सालले रचना गरेको गीतहरुमा उत्तम थापाले संगीत भरेका छन्। चन्दु गोर्खाली, सञ्जिव सुब्बा, राजिव शाह, दिपेश प्रधान, चाँद सिंह तथा बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्स नेपालले प्रस्तुत गरेको हो। विमोचन समारोहमा एल्बमको पहिलो गीत ‘जोर मादल’ को म्युजिक भिडियो प्रिमियर गरिएको थियो ।

समारोहमा सांगीतिक गुरु गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रुपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रसंसा गरे। संगीतकार राजुृ सिंहले पनि गायक थापा संगीतमा मेहनत गर्न पछि नपर्ने प्रतिभा भएको बताए।

२०६५ सालदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएका संगीतकर्मी उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित तीन वटा एकल गीति एल्बम दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन्। ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी उत्तम थापा मगर यतिबेला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन्। भारतको इलाहावाद संगीत विद्यालयबाट छैटौं वर्षको अध्ययन पूरा गरिसकेका उत्तमले सोहि विद्यालयबाट वर्ष २०६७-६८ मा स्वर्ण पदक प्राप्त गरेका थिए।

SUBSCRIBE 👉