अनलाइन फिल्मीखबर अवार्ड(ओफा)मा १७ विधामा प्रतिष्पर्धा


filmykhabar film award (1)
ग्ल्यामर नेपाल, काठमाडौं । नयाँ वर्षको शुभारम्भसँग नेपालमा फिल्म र संगीतसँग सम्बन्धित अवार्डको आयोजना गर्ने लहर बढेको छ । असार १ गते संगीत र फिल्म सम्बन्धी अनलाइन खबरपत्रिका म्युजिक खबर डटकमको आयोजनामा ‘म्युजिक खबर म्युजिक अवार्ड २०१४’को तयारी भईरहँदा फिल्म सम्बन्धी अर्को अनलाइन पत्रिका फिल्मीखबर डटकमले जेठ २६ गते ‘दोस्रो अनलाइन फिल्मीखबर अवार्ड २०७१(ओफा) आयोजना गर्ने भएको छ । फिल्म सम्बन्धीमात्र अवार्ड प्रदान गरिने कार्यक्रमको शीर्ष प्रायोजन मिन्स्क भोड्काको छ।

अवार्डबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मीखबर डटकमका प्रधानसम्पादक तथा कार्यक्रम अध्यक्ष सुमन गैरेले फिल्मीखबर डटकमको छैटौं वार्षिकोत्सवको अवसर पारेर अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । ‘नेपाली फिल्म निर्माता, कलाकार, निर्देशक तथा प्राविधिकहरुलाई उनीहरुको काम गर्ने क्षेत्रमा प्रोत्साहन मिलोस् भनेर अवार्ड आयोजना गर्न लागेका हौं,’गैरेले भने,‘हामी फिल्ममा कमाएको ख्यातीका आधारमा पपुलर अवार्ड प्रदान गर्नेछौं।’

filmykhabar film award (2)अवार्डका निर्देशक सुरेशदर्पण पोखरेलका अनुसार २०७० सालमा रिलिज भएकामध्ये लोकप्रियताका आधारमा अगाडि रहेका फिल्म, फिल्मकर्मी तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ । ‘वर्षभरिमा गरेको व्यापार, फिल्मको विषयप्रस्तुति र निरन्तरता आदिलाई पनि हामीले आधार बनाएका छौं ।’ उनले भने । आयोजकले अवार्डका लागि शीर्ष पाँचको मनोनयन पनि सार्वजनिक गरेका छौं।

ओफामा १७ प्रतिष्पर्धी र तीन अप्रतिष्पर्धी विधा छन् । अप्रतिष्पर्धी विधामा क्रिटिक्स अवार्ड, पपुलर एक्जिविटर र लाइफटाइम अचिभमेन्ट अवार्ड छन् । प्रतिष्पर्धी विधामा पपुलर फिल्म, पपुलर निर्देशक, पपुलर अभिनेता, पपुलर अभिनेत्री, पपुलर स्कृप्ट, पपुलर संगीतकार, पपुलर गीतकार, पपुलर गायक, पपुलर गायिका, पपुलर छाँयाकार, पपुलर द्वन्द्व निर्देशक, पपुलर नृत्य निर्देशक, पपुलर सम्पादक, पपुलर नवनिर्देशक, पपुलर नवअभिनेता, पपुलर नवअभिनेत्री र पपुलर फेसन डिजाइनर रहेका छन्।

आयोजकका अनुसार चाँडै नै लाइफटाइम अचिभमेन्ट प्राप्त गर्ने स्रष्टाको पनि नाम सार्वजनिक गरिनेछ । अघिल्लो वर्ष यो अवार्ड वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह)लाई प्रदान गरिएको थियो । कार्यक्रममा मिन्स्क र आयोजकबीच सहकार्यको सम्झौता भएको थियो।

SUBSCRIBE 👉