भाइरल सोनु सङ : तिमीलाई ममाथि भरोसा छैन… नेपाली भर्सन


यतिबेला सामाजिक सञ्जालमा छाएको छ सोनु सङ्ग। सोनुका गीत यतिबेला इन्टरनेट, युट्युब तथा अन्य सामाजिक सञ्जालमा भाइरल भैरहेका छन्। युट्यबुमा उधुम मच्चाइरहेको उक्त गीतको शीर्षक छ ‘Sonu Tuza Mazyavar Bharosa’ यो गीतले इन्टनरनेट प्रयोगकर्ताको होस उडाएको छ। सामाजिक सञ्जाल खासगरी युट्युबमा यो गीतले लोकप्रिय छ। मानिसहरू अहिले आ–आफ्नै शैलीमा उक्त गीतको भिडियो बनाएर युट्युबमा अपलोड गरिरहेका छन्। युट्युबमा ती गीत दर्जनौं भाषामा सुन्न पाइन्छ, जसमध्ये गुजराती तथा भोजपुरी भर्सनमा गाइएको गीतलाई दर्शक तथा श्रोताहरूले विशेष मन पराएका छन्।

वास्तविकता के छ भने सोनु, तुझा माझ्यावर भरोसा नाही काय ? एउटा प्रसिद्ध मराठी गीत हो। मराठी गायक अजय क्षीरसागरलाई यो गीतको वास्तविक सर्जक मानिएको छ। अजयले स्वयंले भने उक्त गीत आफूले ह्वाट्सएपमा फेला पारेको प्रतिक्रिया दिएका छन्।

उक्त गीत गाउन निकै सजिलो भएकाले नै कम समयमै यसको कभर भर्सनले लोकप्रियता पाएको हो। मराठी भाषाको उक्त गीतको अर्थ हुन्छ सोनु, तिमीलाई मप्रति भरोसा छैन ? यसमै आधारित भएर युट्युब प्रयोगकर्ताहरूले आ–आफ्नो कथा बयान गर्दै भिडियो अपलोड गरिरहेका छन्। अधिकांश प्रयोगकर्ताले आ–आफ्नै शैलीमा उक्त गीत गाएका छन्। यो गीतले यति धेरै लोकप्रियता पाएको छ कि युट्युबमा सोनु सङ्स टाइप गर्नेबित्तिकै त्यसका सयौं भर्सन उपलब्ध हुन्छन्।

यो गीत ट्रेन्ड सेटिङको संसारमा एक कदम अघि बढिसकेको छ। अहिलेसम्म मानिसहरूले भाइरल भएका भिडियोलाई सेयरमात्र गरिरहेका थिए अथवा दोहोर्‍याएर सुनिरहेका थिए। यद्यपि यो गीतको भिडियो सार्वजनिक भएपछि सर्वसाधारणहरू नै यसरी उत्साहित भएका छन् कि उनीहरू स्वयं आफ्नो रोजाइका भर्सन तयार पारेर युट्युबमा अपलोड गर्न थालेका छन्। युट्युबमा यो गीतको हिन्दी, गुजराती, पञ्जाबी, राजस्थानी, मारवाडीसहित नेपाली भाषाको भर्सनसमेत उपलब्ध छ।

पाकिस्तानमा पनि भाइरल : केही दिनअघिसम्म भारतमा मात्र सीमित यो गीत अहिले पाकिस्तानमा समेत भाइरल भएको छ। पाकिस्तानमा उक्त गीतमार्फत नवाज शरीफ तथा इमरान खानमाथि चुट्किला बनाउन थालिएको छ। कराँची ब्वाइजले पहिलो पटक इम्मू हमें तुझ पे भरोसा नहीमार्फत पाकिस्तानमा यो गीतको थालनी गरेको हो। उक्त ब्यान्डका सदस्य मन्सुरका अनुसार युट्युबमा सोनु गीत सुनेपछि त्यही गीतको धुनमा आधारित भएर नयाँ गीतको भिडियो रेकर्ड गरिएको हो। कराँची ब्वाइजले गीतमा इमरानलाई इम्मु भनेर सम्बोधन गरेका छन्।

यसरी भयो सुरुवात : सोनु गीतले भारतमा त्यतिबेला लोकप्रियता पायो, जब मुम्बईकी रेडियो जक्की मलिष्काले त्यसमा आधारित भएर तयार पारिएको भिडियो युट्युबमा अपलोड गरिन् । मलिष्काले सडकमा भएका खाल्डाखुल्डीप्रति व्यंग्य कस्दै उक्त गीत गाएकी थिइन्।

नेपालीमा पनि सोनु सङको नेपाली भर्सनले पनि लोकप्रियता हासिल गर्न थालेका छन्। युट्युबमा रूपसी बस्नेतले तयार पारेको सोनु सङको नेपाली संस्करण लगभग १० लाख पटक हेरिएको छ। रूपसीले स्न्याप च्याटबाट मोडिफाइ गरेर तयार पारेको उक्त भिडियो ‘तिमीलाई ममाथि भरोसा छैन…’ शीर्षकमा फेला पार्न सकिन्छ। रूपसीको उक्त भिडियोसँगै युट्युबमा अहिले सोनु सङका दर्जनौं नेपाली भिडियो उपलब्ध छन्।

रूपसीले स्न्याप च्याटबाट मोडिफाइ गरेर तयार पारेको भिडियो ‘तिमीलाई ममाथि भरोसा छैन…’ हेर्नुहोस्

SUBSCRIBE 👉