मेडिकल ट्रष्टलाई आनन्दका गीत


ananda karki
ग्ल्यामर नेपाल, काठमाडौं। हिमाली जिल्ला सोलुखुम्बुमा बिरामी परेकाका लागि सहयोग गर्न राजधानीमा स्थापना गरिएको वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टको सहयोगार्थ चर्चित गायक आनन्द कार्कीले एकल साँझ गर्ने भएका छन्। सोलुखुम्बु नै जन्मघर भएका कार्कीले आगामी जेठ १२ गते सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा भेला हुने संगीतका पारखीलाई दुई दर्जन आप्mना कर्णप्रिय गीतमार्फत मनोरञ्जन दिलाउनेछन्।

एकल साँझ आयोजक गाउँले इन्टरटेनमेन्टका प्रमुख बलबहादुर राईले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सोलखुम्बुमा बिरामी परेर आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएकालाई राजधानीमा सहयोग स्वरुप ट्रष्टले उपचार सुविधा दिँदै आएको बताए। ‘सांगीतिक कार्यक्रममार्फत ट्रष्टमा केही आर्थिक सहयोग संकलन होस् भन्ने पनि हाम्रो उद्देश्य हो,’राईले भने,‘गायकको पनि आफ्नो जिल्लाका लागि केही सामाजिक काम गर्ने मनसाय बुझेपछि हामीले उहाँलाई कार्यक्रमका लागि प्रस्ताव गरेका थियौं, जसलाई स्वीकार्नु पनि भयो।’

ananda karki (1)गायक कार्कीले संगीतको कदर हुने स्थानमा मात्र आफुले कार्यक्रम गर्न चाहेकाले नाँचघरको सभाहललाई उपयुक्त स्थान रोजेको बताए । ‘मलाई रेष्टुरेन्ट तथा बिलासी होटलमा कार्यक्रम गर्न मन पर्दैन, बरु थोरै मान्छे हुन् तर संगीत बुझ्ने मान्छेका बीच कार्यक्रम गर्न रमाइलो हुन्छ, त्यसैले मलाई नाँचघर नै उपयुक्त लाग्यो,’गायक कार्कीले भने,‘विदेशमा धेरै एकल कार्यक्रम गरें, धेरै वर्षपछि आफ्नै देशमा एकल साँझ गर्न लागिरहेको छु, यो कार्यक्रममा मैले एक रुपैंयाँ पनि लिएको छैन, बरु वाद्यवादकलाई उनीहरुको पारिश्रमिक दिनेछौं।’

ananda karki (2)२०४२ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनले नेपाली सुगम संगीत तथा फिल्मी संगीत गरि करिब दुई हजार बढी गीत गाईसकेका छन्। पचास भन्दा बढी हिट गीत दिईसकेका कार्कीले कार्यक्रममा दुई दर्जन बढी गीत गाउनेछन्। भारतको लखनऊमा शास्त्रीय संगीत सिकेका कार्कीले सन् १९९ मा भारतीय चर्चित रियालिटी शो सारेगमको उपाधि पनि जितिसकेका छन्। उनले गाएका ‘वनमा फूल्यो फूल’, ‘भरे आउँछु सपनीमा’, ‘जनम जनम जीउँला सँगै’, ‘बिहानी पहिलो किरण सरी’, ‘ओठले नबोले पनि’, ‘म तिमी बिना मरिहाल्छु,’ ‘सधैं बस्ने चौतारीको’, ‘यी हल्लाहरु हुन्,’, ‘लाग्छ मन हेरीरहुँ’, ‘जेजे हुने हो यहाँ’ र ‘पहिलो चोटी पिउँदैछु’ जस्ता गीत सुपरहिट गितमा पर्दछन् । कार्यक्रममा गायक कार्कीलाई युगल गायनमा मिलन अमात्य, जुना प्रसाई, प्राश्ना शाक्य र शोभा काफ्लेले साथ दिनेछन् । अपरान्ह ४ बजेबाट करिब अढाई घण्टासम्म चल्ने कार्यक्रमबाट उठेको रकम आयोजक र वाकु प्रतिष्ठान नेपालको मेडिकल ट्रष्टले ५०÷५० प्रतिशत बाँड्ने जनाइएको छ।

SUBSCRIBE 👉