ओलम्पिया फेस्ट मा ‘अभय एन्ड द स्टिम इन्जन्स’


केही समय अघि अमेरिकाको सात शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर नेपाल फर्किएको ‘अभया एन्ड द स्टिम इन्जन्स’ले ओलम्पिया वर्ल्ड स्कुलमा सांगीतिक प्रस्तुति दिएको छ। नेपालको चर्चित रकपप यो समूहले राजधानीको बबरमहल स्थित स्कुलमा शनिवार भएको ‘ओलम्पिया फेस्ट (मेला)’मा आफ्नो सांगीतिक प्रस्तुति दिएको हो।

अभयाका अनुसार व्याण्डले अमेरिकाका सिनसिनती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्यूर्योक, वासिङ्टन डिसी र बाल्टिमोरमा आफ्नो कन्सर्ट गरेको थियो। स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा व्याण्डले आफ्नो गीतमार्फत बालबालिका, शिक्षकशिक्षिका तथा अभिभावकलाई सांगीतिक माहौलमा झुमायो।

‘नारीको सम्मान’ नारा दिइएर गरिएको कार्यक्रममा अभयाले ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरेकी थिइन्।

अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुशी व्यक्त गरिन्। ‘अहिलेको प्रविधिको युगमा पनि महिलाहरु प्रति हेर्ने दृष्टिकोण पुरानै छ। यस्तो बेलामा एउटा विद्यालयले नारीको सम्मानका लागि कार्यक्रम गर्नु आफैमा सकारात्मक र सराहनीय काम हो,’अभयाले भनिन्,‘आजको कार्यक्रम मेरा लागि पनि एउटा सुखद अवसर बन्यो।’

मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन्। मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुद लगायत मनोरञ्जनका विभिन्न गतिविधि रहेको मेलामा विशेष बालबालिकाहरु निकै रमाएका थिए। मेलामा राखिएका विभिन्न स्वादका परिकारमा रमाएका दर्शकहरु सांगीतिक माहौलमा झनै खुशी देखिएका थिए। कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो।

SUBSCRIBE 👉