सपना राम्रो नदेख्ने गायक रुपकको नयाँ एल्बम आउँदै


rupak-dotel-singer

Singer Rupak Dotel | Photo by Kamal Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली रियालिटी शो ‘नेपाली तारा’को पहिलो संस्करणको सेकेण्ड रनरअप बनेका गायक रुपक डोटेल तेस्रो सोलो एल्बम ‘उमंग–२ उल्लास’ लिएर चाँडै नै श्रोतामाझ आउने भएका छन्। ‘सपनी राम्रो देखिन’, ‘मेरो बोली सुन्दा’ जस्ता चर्चित गीतका यी गायकले यसै महिनामा एल्बम सार्वजनिक गर्न लागेका हुन्।

‘एल्बमको सबै काम सकिएको छ, अब सार्वजनिक गर्न मात्र बाँकी हो’गायक डोटेलले भने,‘दोस्रो एल्बममा जस्तै तेस्रो एल्बममा पनि संगीतकार आलोकश्रीको सोलो संगीत छ, उहाँ मेरो अभिभावक सरह भएकाले सहकार्य गर्दा खुशी लागेको छ।’ उनका अनुसार सात वटा गीत रहेको एल्बममा गजल, आधुनिक र पपको फ्युजन फ्लेबरका गीत संग्रहित छन्। रुपकले तीन वर्षपछि तेस्रो एल्बम ल्याउन लागेका हुन्।

model-puspa-khadka-and-jwala-poudel

Screen Shot of Music Video, Model Puspa Khadka and Jwala Paudel

‘यसपटक एल्बममा पुराना तथा नयाँ गीतकारलाई समेटेको छु,’ ३० वर्षे गायकले भने,‘आशा छ उहाँहरुले लेखेका गीतमा मेरो स्वर कर्णप्रिय हुनेछ।’ उनको एल्बममा कालीप्रसाद रिजाल, राजेन्द्र थापा, श्रीपुरुष ढकाल, एसपी कोइराला, एकनारायण भण्डारी, चुडामणि देवकोटा र प्रकाश घिमिरेका शब्द छन्।

एल्बममा रहेको ‘मुस्कानमा अल्झिए’ बोलको गीतको म्युजिक भिडियो पनि बनाइएको छ। जसको निर्देशन दिपेन्द्र केसीले गरेका छन् भने मोडल पुष्प खड्का र ज्वाला पौडेलले अभिनय गरेका छन्। ज्वाला मिस नर्स २०१४ कि शिर्ष उपाधि बिजेता हुन्। एल्बमलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याउन लागेको हो।

SUBSCRIBE 👉