बेलायतका दर्शकहरुमाझ सागर आलेको प्रस्तुति । ‘कार्यक्रम बहिष्कार’ हल्ला मात्रै


सर्वाधिक रुचाइएको गायन रियालिटी सो ‘नेपाल आइडल’का टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति दिने भएका छन्। डिसेम्बर १ देखि ३ तारिक सम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरले लाइभ प्रस्तुति दिनेछन। शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमकालागि सागर सहित उनका दाइ तथा पोखराका बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी गुरुङ पनि बेलायत जाँदैछन्।

यसैबीच, मगर संघ यूकेले बेलायतमा हुने सागरको कार्यक्रमलाई बहिष्कार गर्ने भन्ने हल्ला झुटो रहेको बताएको छ। मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रम आयोजना गर्नुमा संघको संलग्नता नभएको र सागर आलेको कार्यक्रम बहिष्कार गर्ने हल्लामा सत्यता नभएको बताए।

‘कार्यक्रम आयोजना गर्नेमा हामीहरु छैनौं है भनेर भनेको हो’, संघका अध्यक्ष थापाले स्पष्ट पारे, ‘कुनै कलाकारको कार्यक्रम बहिष्कार गरौं भनेर हाम्रो संस्थाले कदापी भन्दैन।’ संघको भनार्इलाई कतिपयले अपव्याख्या गर्दै संघले बहिष्कार गर्ने भनेर प्रचार गर्नु दुखद रहेको उनको टिप्पणी छ।

कार्यक्रमको लागि सघाइरहेका एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुङले पनि कुनै कलाकारको कार्यक्रम बहिष्कार भनेर प्रचारबाजी गरिनु दुखद रहेको बताए। ‘हामीले मगर संघका अध्यक्षसँग नै कुरा गर्‍यौं, उहाँहरुले बहिष्कार गर्ने भनेकै हैन भन्नुभएको छ’, गुरुङले भने, ‘सागर आले हाम्रो सान हो। हल्लाको पछि लाग्नुभन्दा पनि आफ्ना कलाकारहरुको सम्मान र प्रोत्साहन गर्नेतर्फ लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु।’

SUBSCRIBE 👉