फेसन व्यवसायमा चपली हाइटकी परमिता, ‘नायला’ फेशन ब्रान्ड लन्च


‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी परमिता राणाले राजधानीमा फेसन ब्रान्ड ‘नायला’ सञ्चालनमा ल्याएकी छन्। चाँडै नै नयाँ फिल्ममा देखिन लागेकी उनले राजधानीका फेसन पारखीलाई लक्षित गर्दै यो ब्रान्ड नेपाली बजारमा ल्याएकी हुन्। राजधानीको कर्म लाउन्जमा आयोजित जमघटमा ब्रान्ड लन्च गर्दै नेपालमा स्थापित गर्न उनले आफ्नै कम्पनीका साथीहरुसँग टीमअप गरेको बताइन्।

‘अहिले न्यूयोर्क र लस एन्जल्सको शैली आत्मसात गरेर त्यसलाई नेपाली स्टाइलमा ढालेर विक्री थालेका छौं’ उनले भनिन् ‘बजारको चल्ती, स्टाइलभन्दा भिन्न डिजाइन तयार पारेर ग्राहकको मन जित्नुमा नायला लक्षित हुनेछ।’ लुगासँगै एस्सेसरिजमा पनि ब्रान्डलाई अघि बढाउने सोच छ। कायक्रममा राणाले आफ्नै गायकीमा अंग्रेजी हिट नम्बरहरु सुनाएकी थिइन्। उनलाई गायकीमा नास्टी लगायतका ¥यापरहरुले साथ दिएका थिए।

अहिले सर्ट, पाइन्ट र ज्याकेट उत्पादन गरिरहेको ब्रान्ड निकट भविष्यमा लेदर उत्पादनमा पनि सक्रिय हुने भएको छ। ४ हजारदेखि सात हजारसम्मको मूल्यमा ग्राहकले नायलाका उत्पादन खरिद गर्न सक्ने छन्।

SUBSCRIBE 👉