ग्ल्यामर नेपाल, काठमाडौं । फिल्मको सेन्सरमा नै रोक लगाएपछि चर्चामा आएको फिल्म ‘१२ नेपाली एक चिहान’ निर्माण समूहले सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललाई आइतबार ज्ञापनपत्र बुझाएको छ। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको पहलमा फिल्मका निर्माता तथा निर्देशक अरुण प्रधानको नेतृत्वमा गएको टोलीले मन्त्रालयमै मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र बुझेपछि मन्त्री रिजालले आफुले पनि फिल्म हेर्न चाहेकोले एक पटक फिल्म हेरेपछि सेन्सरको बारेमा निर्णय लिने बताएका थिए। इराकमा हत्या गरिएका १२ जना नेपालीको कथालाई समेटेर निर्माण गरिएको फिल्म प्रदर्शनमा आएपछि पीडितका परिवारलाई तनाव हुने आशंकामा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डमार्फत सेन्सर बोर्डलाई सेन्सर नगर्न आदेश दिएको थियो।
मन्त्री रिजालले सेन्सर बोर्डका नयाँ अध्यक्ष कविराज खनाललाई फिल्म हेरेर उचित निर्णय लिन निर्देशनसमेत दिएका थिए। त्यस्तै टोलीले चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मरवैतालाई पनि ज्ञापन पत्र बुझाएको छ।