दश वर्ष अघि भारतका धनी व्यापारी दाजुभाई मुकेश अम्बानी र अनिल अम्बानीबीच व्यापारिक टकराव हुँदा यी दुईले एक दशकसम्म एकापसमा कुनै पनि प्रतिष्पर्धी कम्पनी नल्याउने सम्झौता गरेका थिए। अनिलले बलिउडमा रियालन्स इन्टरटेनमेन्ट कम्पनी खोलेर एकछत्र राज गरिरहेको बेला उनका दाजु मुकेशले सम्झौता सकिएको दश वर्षपछि बायाकोम १८ नामक कम्पनी स्थापना गरेर भाईलाई कडा टक्कर दिन थालेका छन्।
मुकेशले आफ्नो कम्पनीमार्फत निर्माण गरेको पहिलो फिल्म ‘मेरी कोम’ रिलिजको तयारीमा छ। जसमा नायिका प्रियंका चोपडालाई महिला बक्सरको भूमिकामा देख्न सकिन्छ। समाचार अनुसार प्रियंका अन्य बलिउडका कलाकार जस्तै अम्बानी परिवारको पनि असल मित्र हुन्। मुकेशको नेटवर्क १८ समूह खरिद गरेपछि बलिउडमा अहिले ठूलो हलचल भएको समाचारमा जनाइएको छ। मुकेशले फिल्म वितरण तथा निर्माणको नयाँ कम्पनी खोलेपछि छोटा कम्पनी र फिल्म निर्मातालाई आफ्नो फिल्मको व्यापक किसिमले रिलिज गर्न निकै चुनौति भोग्नुपर्ने फिल्म विश्लेषकहरुको बुझाई छ।
यसअघि मुकेशले सन् २००७ मा बलिउडकै सर्वाधिक ठूलो व्यानर यशराजलाई किन्ने तयारीमा थिए। यश चोपडा, आदित्य चोपडा र रिलायन्सका बीचमा २५ सय करोड रुपैंयाँको विक्री सम्झौता हुन लागेको थियो। यशले कम्पनीमा ५० प्रतिशत शेयर पाउने सम्झौताको तयारी भएको थियो। रियालन्सले एकलाख भन्दा बढी जनसंख्या भएका हजारौं शहर जहाँ सिनेमाघर छैनन्, त्यहाँ रिलायन्सले दुई मल्टिप्लेक्सन बनाउने बचन दिएपछि आदित्य सम्झौताको कुरामा सहमत थिए।
तर सम्झौताको ठिक अगाडि, सम्झौतापछि आफुले गर्ने फैसलामा असर पर्ने भन्दै उक्त सम्झौता खारेज गरेका थिए। बायोकोम १८ ले हलिउडको ठूलो स्टुडियो पैरामाउण्ट पिक्चर्सको सबै फिल्म भारतमा प्रदर्शन गर्दछ। बायोकोम १८ ले ‘भाग मिखा भाग’, ‘स्पेशल २६’, ‘मद्रास क्याफे’, ‘बोस’, ‘क्वीन’ र ‘मञ्जुनाथ’ जस्ता फिल्मको प्रदर्शन गरिसकेको छ।










