‘कार्टुन क्रु’का आस्मा र सरोजको प्रेम कथा


डान्स ग्रुप ‘कार्टुन क्रु’ का आस्मा विश्वकर्मा र सरोज अधिकारीलाई लिएर टेलिभिजन सिरिज ‘ट्वान्टी फस्ट लभ’ निर्माण भएको छ। सिरिज निर्माता एसियन म्युजिकले केहि दिनपछि नै उक्त सिरिजलाई टेलिभिजन तथा युट्युवमा रिलिज गर्ने बताएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सिरिजको ट्रेलर समेत सार्वजनिक गरिएको छ।

एसियन म्युजिकका इश्वर गुरुङले किशोर किशोरीको प्रेम कथाको संग्रहको रुपमा आउने सिरिजको ट्रेलरमा युवापिँढीको प्रतिनिधित्व गर्ने दृश्यहरु जोडिएको बताए। ‘पछिल्लो पुस्तालाई लक्षित गरेर तयार पारिएको सिरिज सबैवर्गका दर्शकहरुको लागि मनोरञ्जनको खुराक बनेको छ,’ उनले भने,‘अहिलेको पुस्ताले रुचाएको आस्मा र सरोजलाई सिरिजमा देख्दा उनीहरु पक्कै खुशी हुनेछन्।’

सरिन पोखरेलको डेब्यु निर्देशन रहेको सिरिजमा मिलन शंकर र ज्ञानेन्द्र शर्माको छायांकन, अशोक मल्लको सम्पादन, अल्मोडा राना, मेलिना राई र शुभ तामाङको संगीत छ। मनोज जोशी प्रोडक्सन डिजाईनर टिममा दिपेन्द्र तामाङ र खगेन्द्र श्रेष्ठ सहनिर्माता छन्।

सिरिजमा आस्मा र सरोजसँगै अनुष्का अधिकारी, संयोग हुमागाईं, निशान्त सुवेदी, रोशनी कार्की, विजय अधिकारी, दृष्टी श्रेष्ठ, लक्ष्मी गिरी, रश्मी भट्ट, पवन शाक्य, खगेन्द्र श्रेष्ठ, राधा श्रेष्ठ, अन्जन शर्मालगायतले अभिनय गरेका छन्। सिरिजको टेलिभिजन प्रदर्शन अधिकार कान्तिपुर टेलिभिजनले लिईसकेको छ।

ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉