आदिवासी फिल्म महोत्सवमा १८ देशका ३६ फिल्म


mustang-nepalग्ल्यामर नेपाल, काठमाडौ । इन्डिजिनियस फिल्म अर्काइभ(आइफा)को आयोजनामा आगामी जेठ २९ बाट जेठ ३१ सम्म राजधानीको राष्ट्रिय सभागृहमा हुन लागेको ‘आठौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव–२०७१’को अन्तिम तयारी भइरहेको आयोजकले जनाएका छन् । आयोजकले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव निर्देशक सञ्जोग लाफा मगरले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

‘यस पटक महोत्सवमा आदिबासी जनजाति सम्बन्धी विश्वका सबै विषयबस्तुको फिल्म, छोटा फिल्म, वृत्तचित्र, एनिमेसन फिल्म एवं म्युजिक भिडियोलाई खुला गरिएको थियो, जसअन्तर्गत २७ देशका १ सय ३ वटा फिल्महरु प्राप्त भएका थिए र ती मध्येबाट १८ देशका ३६ वटा लामाछोटा फिल्म महोत्सवका लागि चयन गरिएको छ,’ निर्देशक मगरले भने,‘ जसमा अर्जेन्टिना, पेरु, इथोपिया, तान्जानिया, ब्राजिल, जापान, पाकिस्तान, रसिया, संयुक्त राज्य अमेरिका, मलेशिया, न्युजिल्याण्ड र कंगोबाट एक–एक वटा फिल्म छनौट भएका छन् । यस्तै मेक्सिकोबाट ८, क्यानाडाबाट ७, ग्वाटेमालाबाट ४ र ताइवानबाट ३ र नर्वेबाट २ वटा लामाछोटा फिल्म एवं वृत्तचित्र महोत्सवका लागि चयन भएका छन्।

महोत्सवमा पहिलो जापानको आदिवासी समुदाय आइनु जातिको वृत्तचित्र ‘आइनु पाथ वेज टु मेमोरी’, पाकिस्तानको ‘द कलस एन्ड द क्रिससेन्ट’, मलेशियाको ‘द संकन ग्रेभ्स्’ प्रमुख आकर्षणका विषय बन्नेछन्। महोत्सवमा ल्याटिन अमेरिकाका ७ देशका १५ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवमा नेपालबाट तामाङ, लिम्बु, मगर, थारु, राई, गुरुङ र थकाली गरी सात जनजातिका १२ ओटा लामाछोटा फिल्म, वृत्तचित्र एवं म्युजिक भिडियो चयन भएका छन्। जर्मनका फिल्मकर्मी होल्जर रिडेलले बनाएको मुस्ताङका थकाली समुदायको ‘३६० डिग्री जिइओ–रिपोर्ट स्केप फ्रम द माउन्टेन्स्’ र न्युयोर्कका फिल्मकर्मी कार्लस गोमेजले निर्माण गरेको लिम्बु समुदायको ‘मिसेक’ पनि देखाइनेछ।

आयोजकका अनुसार महोत्सवमा अन्तर्राष्ट्रिय फिल्म बीच हुने प्रतिस्पर्धामा उत्कृष्ट फिल्मले ‘गोल्डेन ड्रम’, द्वितियले ‘सिल्भर ड्रम’, तृतीयले ‘ब्रन्ज ड्रम’, जुुरी अवार्ड प्राप्त फिल्मले पनि ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन्। नेपाली पानोरमा अन्तर्गत उत्कृष्ट हुनेले १५ हजार रुपैयाँ र नेपाली पानोरमा अन्तर्गत नै प्रोत्साहन पुरस्कार प्राप्त फिल्मले २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन्। महोत्सवको निर्णायकमा भारतीय फिल्मकर्मी जे एल भारद्धाज, जापानका फिल्मकर्मी एवं फिल्म सम्पादक मिजोगुची नाओमी र नेपालबाट सञ्चारकर्मी अनिता गुरुङ रहने छन्। यसबाहेक महोत्सवमा जनजातिको संस्कार झल्काउने खाना र तस्वीरको प्रदर्शनी गरिनेछ।

SUBSCRIBE 👉