पाँच करोडको ‘द म्यान फ्रम काठमाण्डू’को यस्तो ट्रेलर


काठमाडौं । पाँच करोड बजेटमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको हलिउड यो फिल्मको छायांकन अमेरिकाको लसएन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

अमेरिकाको सिकागोमा आइतबार आयोजित ‘नेपाली नेसनल कन्भेन्सन २०१८’मा ट्रेलर–पोस्टर सार्वजनिक गरिएको हो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ ।

फिल्मका निर्माता नकिम उद्दिनले निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए । क्यूएफएक्स सिनेमाज् प्रमुखसमेत रहेका उद्दिन अहिले अमेरिकामा छन् । फिल्मका निर्देशक पेमा धोन्डुप हुन् । उनी निर्देशित फिल्म ‘वी आर नो मंक्स’ (२००४)ले सुखद समिक्षा पाएको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको बताए ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । ‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

SUBSCRIBE 👉