दरबारमार्गमा बादशाहको धमाकेदार कन्सर्ट


भारतका चर्चित र्‍यापर बादशाह उर्फ आदित्य प्रतीक सिंह सिसोडियाले शनिबार दरबारमार्गमा धमाकेदार कन्सर्ट पस्केका छन्। पञ्जाबी मूलका गायक बादशाहले कन्सर्टमा आफ्ना हिट गीतहरू ‘डिजेवाले बाबु’, ‘स्याटर्डे–स्याटर्डे’, ‘देसी हिपहप’लगायत गीत गाएर माहोल तताएका थिए।

टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्यमा १४औं दरबारमार्ग स्ट्रिट फेस्टिभलमा कन्सर्ट गरिएको हो। निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको कन्सर्टमा नेपाली कलाकार इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी वुगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको पनि प्रस्तुति रहेको थियो।

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता रहेको जगदम्बा मोटर्सले टीभीएसको ‘एनटर्क’ स्कुटर बुकिङ गर्ने ग्राहकलाई कन्सर्टका लागि विशेष पासको व्यवस्था गरेको थियो। कम्पनीका अनुसार ‘एनटर्क’ बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले बादशाहलाई प्रत्यक्ष भेट्ने मौका पाएका थिए। काठमाडौंमा बादशाहको यो दोस्रो कन्सर्ट हो। यसअघि सन् २०१६ मार्चमा पनि उनी कन्सर्टका लागि काठमाडौं आएका थिए।

SUBSCRIBE 👉