किन चुप छिन् – प्रियंका ?


नायिका प्रियंका कार्कीले फिल्म कथा काठमाडौंका बारेमा आफू चुप बस्नु नै उचित ठानेको बताएकी छन्। फिल्मको रिलिज डेट नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त रहेकी प्रियंकाले यस्तो बताएकी हुन्। फिल्मको ट्रेलर सार्वजनिक भएसँगै उनी आफ्नो भूमिकाबारे मौन थिइन्। नायक प्रमोद अग्रहरिसँग अन स्क्रिन इन्टिमेट सिनमा देखिएकी प्रियंकाले मिडियासँग आफ्नाे भूमिकाबारे खुलेर प्रस्तुत भएकी थिइनन्। फिल्ममा रहेको ‘रातका कुरा’ गीतको भिडियोमा पनि यी दुई कलाकारको इन्टिमेट सिनले आलोचना खेप्यो।

नेपाली समाज र मिडियाबाट तीव्र आलोचना आउने पहिले नै थाहा भएकाले पनि उनी चुप बसेको बताइन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘फिल्मको भूमिकाप्रति म सुरुदेखि नै सकारात्मक थिएँ। फिल्म रिलिज भएपछि वास्तवमा त्यो सिन किन राखिएको हो भन्ने सबैलाई आफैं थाहा हुनेछ।’ आफूलाई चुनौतीपूर्ण भूमिका बढी मन पर्ने बताउँदै यस फिल्ममा पनि आफ्नो भूमिका निभाउन खोजेको उनले बताइन्।

फिल्ममा प्रियंकाको भूमिकाले घरेलु तथा महिला हिंसाको मुद्दा उठाउन खोजेको पनि उनले बताइन्। ‘अझै पनि प्रत्येक तीन घरमध्ये एक घरमा महिला हिंसा हुन्छ’, उनले भनिन्, ‘तर हाम्रो समाज नै यस्तो छ कि छोरी मान्छेलाई सबै कुरा सहनुपर्छ भनेर सिकाइन्छ।’ प्रियंकाले आफ्नो रिल लाइफले रियल लाइफमा कुनै फरक नपर्ने पनि बताइन्। प्रियंकाले भनिन्, ‘मेरो फिल्मी भूमिकाले मेरो घरपरिवारमा कुनै फरक पार्दैन।’

नायक प्रमोद अग्रहरिले भने फिल्मको गीत र ट्रेलर रिलिज पछि अझै सकारात्मक टिप्पणी आएको बताए। एक कलाकारको रूपमा अफू जस्तो पनि भूमिका गर्न तयार भएको बताउँदै उनले भने, ‘एउटा कलाकार गाली र तालीको भोको हुन्छ। उसको मेहनत र सफलता यसैमा निर्भर हुन्छ।’ फिल्मकी निर्देशक संगीता श्रेष्ठले मानिसहरू आफ्नो सपना पूरा गर्न कुन हदसम्म जान्छ भन्ने विषय कथा काठमाडौंमा भएको बताउँछिन्। फिल्मको ट्रेलरबाटै सबैले कमेन्ट गर्न हतारिएको देखेर आफू अचम्ममा परेको बताउँछिन्।

पहिलो पटक फिल्म निर्देशनमा हात हालेकी संगीताले फिल्मको पहिलो भिडियोको चर्चा परिचर्चासँगै गाली पनि खेपेको बताउँदै भनिन्, ‘फिल्म हलमा लागेसँगै सबै भ्रम चिरिने छन्।’ सुरुमा सेन्सर बोर्डले फिल्मको ट्रेलरबारे प्रस्ट्याउन चिठी काटेको भए अहिले कथा काठमाडौंलाई पीजी सर्टिफिकेट दिइएको छ।
विजय राई निर्माता रहेको यस फिल्ममा प्रियंका, कार्की, आयुष्मान देशराज जोशी, प्रमोद अग्रहरिलगायत सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेस्का अधिकारीको मुख्य भूमिका छ। फिल्म असोज १२ गते देखि काठमाडौं उपत्यकामा रिलिज हुँदैछ।

‘कथा काठमान्डु’ ट्रेलर युट्युबबाट हटाउन बोर्डको निर्देशन

‘जुन अनि तारा’मा ‘कथा काठमाडौं’का ६ पात्र

SUBSCRIBE 👉