शिक्षित गाईपालक ‘गोपी’ अब माघ १८ मा नै आउने


दीपेन्द्र लामा निर्देशित फिल्म ‘गोपी’ले पूर्व निर्धारित प्रदर्शन मिति अघि सारेको छ। यसअघि चैत १५ गतेदेखि प्रदर्शनमा अाउने भनिएको भएपनि सोभन्दा करीब २ महिना अघि माघ १८ बाट प्रदर्शनमा आउने भएको छ। फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका छ।

फिल्म निर्देशक दीपेन्द्र लामाले सोचेभन्दा चाँडै फिल्मको काम सकिएकाले २ महिना अगावै प्रर्दशनका लागि तयार भएको बताए। उनले भने ‘फिल्म युनिटको पूर्व तयारी र वितरक मनोज राठीसँगको छलफल र सहमतिका आधारमा फिल्मलाई केही समय अगावै प्रदर्शनमा ल्याउन लागिएको हो।’

यसअघि कलाकार हेरफेरका विषयबाट फिल्मको चर्चा बढेको थियो। अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटीले फिल्मबाट हात झिकेका थिए भने छोटो समायवधिमा अभिनेता विपिन कार्की र वर्षा राउतलाई फिल्ममा भित्र्याइएको थियो।

शिक्षित युवाको गाईपालन व्यवसायलाई कथाको केन्द्र बनाएर तयार गरिएको फिल्ममा मणिकर्ण केसीको निर्माण तथा श्रीधर पौडेलको सह-निमार्ण रहेको छ। काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको यो फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार पारेका हुन्।

यो फिल्ममा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ।

SUBSCRIBE 👉