पलेँटीमा एकसाथ दुई पुस्ता


prakash-gurung

Prakash Gurung | Photo Source: phalano.com

ग्ल्यामर नेपाल, काठमाडौं । सात वर्षअघि पलेँटी श्रृंखलामा उपस्थित हुँदा संगीतकार प्रकाश गुरुङले आफुलाई उत्तिकै राम्रो गायकका रुपमा प्रस्तुत गरेका थिए। यसपटक पुनः त्यही मञ्चमा उनी उभिँदैछन्। फरक यती मात्र हो पहिला उनी एक्लै थिए भने यसपटक गायिका छोरी रिमा गुरुङ होडाले उनलाई साथ दिँदैछिन्। दुई पुस्ताको प्रस्तुतिले आम दर्शकको मन बेजोड किसिमले झुमाउनेछ। दसौं वर्षमा प्रवेश गरेको पलेँटीले आउँदो शुक्रबार असार १३ गते यी दुई पुस्ताका सांगीतिक स्रष्टालाई एकैसाथ प्रस्तुत गर्न लागेको हो।

कार्यक्रममा गायक प्रकाशले पुरानादेखि नयाँपुस्ताका रचनाकारका गीतलाई प्रस्तुत गर्नेछन्। ओमविक्रम विष्ट र सुकमित गुरुङका पुराना ‘सुनचाँदी भन्दा महँगो यो ज्यानलाई’, ‘म भनि बाँचेको प्रिय’, ‘धेरै नजिक हुनु पर्दैन मान्छेलाई’ देखि केहि अघि मात्रै श्रोतामाझ चर्चित फिल्मी गीत ‘बोल बोल पाखाहरु’ संगीतकार प्रकाशको सांगीतिक सिर्जना हुन्। ‘मेरा गीतहरुलाई कतिपयले पप भनिदिन्छन् जबकि मैले आजसम्म पप गीत बनाएकै छैन,’ प्रकाश भन्छन्, ‘मैले गरेका सबै रचनाहरु आधुनिक संगीतको एउटा नयाँ स्वरुप हो।’ उनका अनुसार आधुनिक गीतमा सबैले ‘मेलोडी’ (माधुर्य)मा मात्र एकोहोरो ध्यान दिइरहेको बेला उनले ‘रिदम’(ताल)लाई पनि प्राथमिकतामा राखिदिएका मात्र हुन्।

शुक्रबारको कार्यक्रममा उनले भर्खरै तयार पारेका कालीप्रसाद रिजाल र विजय शिवाकोटीलिखित दुई गीत पनि सुनाउने भएका छन्। आफुसँगै मञ्चमा प्रस्तुत हुने छोरी रिमाले छवटा जति गीत सुनाउने प्रकाशले जनाए। इलाहावाद विश्वविद्यालयबाट संगीतमै स्नातकोत्तर गरेकी उनी आधुनिक नेपाली गायिकाको रुपमा परिचित छिन्।

reema-gurung-hoda

Reema Gurung Hoda | Photo Source: Kathmanducraze.Com

सानैदेखि आदर्शका रुपमा हेर्दै आएका आफ्नै पितासँग पहिलोपटक एउटै मञ्चमा प्रस्तुत हुन लागेकामा रिमा पनि उत्तिकै उत्साहित देखिन्छिन् । ‘म उहाँकै गीत सुनेर हुर्किएकी हुँ,’ उनी भन्छिन्, ‘यो अनौठो र रमाइलो अनुभव हुनेछ।’

पलेँटीका संयोजक एवं गायक आभाषका अनुसार यसपालाको प्रस्तुती आफैँमा नौलो थालनी पनि भएको छ। ‘अहिलेसम्म हामीले पुराना पिढीका गीतकार, संगीतकार र गायकगायिकालाई प्रस्तुत गर्दै आयौं,’ उनी भन्छन्, ‘अब भने उनिहरु मध्येकै संगीत घरानाबाट अग्रज र तिनका सन्ततिलाई साथसाथै उभ्याउन थालेका छौं।’

SUBSCRIBE 👉