रजनीकान्तबारे रोचक तथ्यहरु: फ्रम बस कन्डक्टर टु सुपरस्टार


दक्षिण भारतीय अभिनेता रजनीकान्त ठूला फिल्म स्टारमध्ये एक हुन्। बढ्दो उमेर, पटक–पटकका बिरामी र असफलताका बाबजुद उनकोे स्टारडम कहिल्यै घटेन। पटक–पटकको असफलतालगत्तै फेरि आफूलाई सफल प्रमाणित गरेको इतिहास उनीसँग छ। नोभेम्बर २९ मा रजनी अभिनीत ‘२.०’ रिलिज हुँदै छ। ५ सय ४३ करोड भारतीय रुपैयाँमा निर्माण भएको भारतको अहिलेसम्मकै सर्वाधिक महँगो फिल्ममा उनीसँगै अर्का स्टार अक्षयकुमार मुख्य भूमिकामा छन्। ६७ वर्षको उमेरमा पनि रजनीकान्त भारतमा सर्वाधिक पारिश्रमिक लिने कलाकारमध्ये एक हुन्।

१. रजनीकान्तको जन्म डिसेम्बर १२ १९५० मा कर्नाटकस्थित मराठी परिवारमा भएको थियो। उनको वास्तविक नाम शिवाजी राव हो। फिल्मी दुनियाँमा आउनुअघि उनले कुल्ली, कार्पेन्टर र खलाँसीको काम गरेका थिए।

२.सन् १९७३ मा मद्रास फिल्म इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा गरेपछि रजनीकान्तले छिटफुट रूपमा नाटकहरू खेल्न सुरु गरे। त्यसै क्रममा तमिल फिल्म निर्देशक के बालाचन्दरले उनलाई नोटिस गरेका थिए। १९७५ मा प्रदर्शनमा आएको ‘अपुर्वा रागन्गल’ उनी अभिनीत पहिलो फिल्म हो। फिल्ममा उनले महिला हिंसा गर्ने श्रीमानको छोटो भूमिका निभाएका छन्। फिल्मले तीनवटा राष्ट्रिय अवार्ड जित्यो। जसमा तमिल भाषाको उत्कृष्ट फिल्म अवार्ड पनि समावेश थियो। रजनीकान्तको प्रशंसा गर्दैै ‘द हिन्दू’मा लेखिएको थियो, ‘नयाँ कलाकार रजनीकान्त उत्कृष्ट र प्रभाव जमाउन सक्नेमा देखिएका छन्।

३.रजनीकान्तको पारिवारिक विषय पनि निकै चर्चामा रहन्छ। उनकी श्रीमती लता रंगचारी रजनीभन्दा ८ वर्षले कान्छी छिन्। लताले आफ्नो कलेजको म्यागेजिनका लागि अन्तर्वार्ता लिने क्रममा रजनीकान्तलाई पहिलोपटक भेटेकी थिइन्। सन् १९८१ मा उनीहरूले विवाह गरे। लता अहिले पनि शिक्षण पेसामै आबद्ध छिन्। चेन्नईमा रहेको ‘द आश्रम’ नामक शिक्षण संस्था उनको स्वामित्वमा छ। यो जोडीका दुई छोरी ऐश्वर्या र सौन्दर्या छन्। जेठी छोरी ऐश्वर्याले दक्षिण भारतीय स्टार धनुष र सौन्दर्याले उद्योगपति अश्विनराम कुमारसँग विवाह गरेका छन्।

४.रजनीले आफ्नो करियरको सुरुवातमा धेरैजसो फिल्ममा नकारात्मक भूमिका निर्वाह गरे। कुनै फिल्ममा यौनहिंसा गर्ने पति, कुनैमा बलात्कारी, कुनैमा दुर्व्सनी, कुनैमा पोर्न भिडियो खिच्ने व्यक्ति। तर, सन् १९७७ मा उनले ‘भुवन और केल्भिकुरी’ फिल्ममा सकारात्मक भूमिका पाए। त्यसपछि विस्तारै हिरो हुँदै सुपरस्टार बने।

५.रजनीलाई अमिताभ बच्चनको अभिनय निकै मन पर्छ। दिवार, अमर अकबर एन्थोनी, लावारिस र डनमा अमिताभ जुन भूमिकामा देखिएका छन्। यी फिल्महरूको तमिल रिमेकमा रजनीकान्तले त्यही भूमिका निर्वाह गरेका छन्। दक्षिण भारतीय कलाकार कमल हसन पनि रजनीकान्तका प्रिय हुन्। उनीहरूबीच राम्रो मित्रता छ।

६.सन् २००७ मा प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘शिवाजी’ का लागि रजनीले २६ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएका थिए। तत्कालीन समय एकै फिल्मबाट सर्वाधिक पारिश्रमिक लिने एसियाली कलाकारको सूचीमा ज्याकी चेनपछि दोस्रो नम्बरमा थिए।

७.ट्विटरमा रजनीकान्तका ४५ लाखभन्दा धेरै फलोअर्स छन्। उनी हिन्दूधर्म र अध्यात्ममा रुचि राख्छन्। योगा र ध्यान नियमित गर्छन्। ‘फर द लभ अफ अ म्यान’ नामक वृत्तचित्र हेरेपछि रजनीकान्तलाई उनका फ्यानहरूले कुन हदसम्म माया गर्छन् भन्ने विषय थाहा हुन्छ। यो डकुमेन्ट्री फिल्म रजनीकान्तका नाममा स्थापित १ लाख ५० हजारवटा फ्यान क्लबहरूमा समर्पित गरिएको थियो। उनका कतिपय फ्यानहरूमा रजनीकान्तको जस्तै हाउभाउ र गेटअपको झल्को पाइन्छ। कतिले रजनीकान्तलाई वर्षौँदेखि भगवान् मानेर पूजासमेत गर्ने गरेका छन्।

८.रजनीले आफ्नो कमाइको आधा रकम समाजसेवामा खर्चने गरेका छन् । उनी आफ्ना फ्यानहरूलाई पनि समाजसेवामा लाग्न प्रेरित गर्छन्। त्यसैले, उनको जन्मदिनका अवसरमा फ्यानहरूले रक्तदान, आँखादान शिविरलगायतका सामाजिक कार्यक्रम आयोजना गर्छन्। गरिबहरूलाई खाद्यान्न वितरण गर्छन्।

९.चर्चित लेखक, स्क्रिनराइटर तथा पत्रकार ग्राडी हेन्ड्रिक्सले रजनीकान्तलाई अमेरिकी जनतामाझ चिनाउने क्रममा भनेका छन्, ‘ठूला फिल्म स्टार जसका विषयमा तपाईंले कहिल्यै सुन्नुभएन।’ उनले रजनीकान्त विश्वकै उत्कृष्ट अभिनेतामध्ये एक रहेको दाबी गरेका थिए।

१०.रजनीकान्तले अहिलेसम्म फिल्ममा निर्वाह गरेका कुनै पनि पात्रले मृत्युवरण गर्नुपरेको छैन। उनका फ्यानहरू स्क्रिनमा उनी मरेको हेर्न चाहन्नन्। निर्देशकहरूलाई पनि उनको पात्रलाई मार्दा फ्यानहरू निराश होलान् वा उनीहरूले हुलदंगा गर्लान् भन्ने चिन्ता हुन्छ।

११.रजनीकान्तले हिन्दी, तेलुगु, कन्नाडा, मलायालम, बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन्। सन् १९८८ मा उनले हलिउड फिल्ममा पनि अभिनय गरेका थिए। ‘द ब्लडस्टोन’ फिल्मलाई हलिउडका चर्चित निर्देशक ड्युग्ट एच लिटिलले निर्देशन गरेका थिए। रजनीले अभिनयसँगै फिल्म लेखन पनि गरेका छन्। सन् १९९३ मा प्रदर्शनमा आएको ‘भल्ली’ नामक फिल्ममा उनी लेखक र निर्माता थिए।

१२.सन म्यागेजिनको कभर, सौन्दर्य सामाग्रीका विज्ञापन, सामाजिक सञ्जाललगायतमा देखिएका आधारमा प्राय कलाकारहरूको ख्यातिको मूल्यांकन गरिन्छ। तर, रजनीकान्त यस्ता जीवित कलाकार हुन्। जसको जीवनी भारतीय विद्यालयको पाठ्यक्रममा समावेश छ। सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सिबिएसई) अन्तर्गत कक्षा ६ को पुस्तकमा समावेश पाठको शीर्षक ‘फ्रम बस कन्डक्टर टु सुपरस्टार’ राखिएको छ।

SUBSCRIBE 👉