विश्व सुन्दरी हुनेमा मिस नेपाल श्रृङ्खलाको दाबेदारी प्रबल

मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी श्रृङ्खला खतिवडा बनेकी छिन्। मिस वर्ल्ड प्रतियोगितामा सहभागि भए देखि श्रृङ्खलाको चर्चा सामाजिक संजाल, अनलाइन मिडिया देखि राष्ट्रिय दैनिक अखबारहरुमा चलिरहेको छ।


-रोजिन शाक्य
चीनको सान्या शहरमा डिसेम्बर ८ अर्थात् मंसीर २२ गते संचालन हुने ६८ औं संस्करणको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागि हुन पुगेकी मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडा मल्टिमिडिया तथा ब्युटी विथ अ पर्पसको अवार्ड जित्न सफल भए संगै उत्कृष्ट तीस भित्र सुरक्षित हुँदै उनी यस पटकको प्रतियोगिताको शीर्ष स्थानका लागि प्रबल दाबेदारका रुपमा देखा परेकी छिन्।

यस पटकको विश्व सुन्दरी प्रतियोगिताको शीर्ष उपाधि ताज नेपाली चेलीको शीरमा सजिने प्रबल संभावना संगै यसको वास्तविक संभाव्यताको अंक गणित आफ्नो ठाउँमा होला तर सौन्दर्य प्रतियोगिताको विश्व मंचमा नेपाली चेली श्रृङ्खलाको अहिलेसम्मको उपलब्धि र चर्चा प्रसंगले समग्रमा सौन्दर्य प्रतियोगितामा रुचि राख्नेहरु देखि यसका समिक्षकहरुलाई सकरात्मक रुपमा सोच्न र आकर्षित गर्न सफल भएको छ।

यस कारण प्रबल दाबेदार
मिस वर्ल्ड प्रतियोगिताको फर्म्याट अनुसार उत्कृष्ट तीस भित्र पर्नका लागि फास्ट ट्रयाक प्रक्रिया अन्तर्गत ब्युटी विथ अ पपर्स, मिस वल्र्ड स्पोर्टस् च्यालेन्ज, मिस वर्ल्ड ट्यालेन्ट, मिस वर्ल्ड टप मोडल र मिस वर्ल्ड मल्टिमिडिया गरी पाँच वटा स्पेशल अवार्ड रहेको छ। जस अन्तर्गत श्रृङ्खलाले मिस वर्ल्ड मल्टिमिडिया र ब्युटी विथ अ पपर्स दुई वटा अवार्ड जितेर इतिहास रच्न सफल भएकी छिन्। मिस वर्ल्ड प्रतियोगिताको लामो इतिहासमा दुई वटा फास्ट ट्रयाक अवार्ड जित्ने पहिलो सुन्दरी बनेकी छिन् श्रृङ्खला।

मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल सुन्दरीहरु मध्ये सबैभन्दा सफल र चर्चा कमाएकी सुन्दरी पनि उनी नै बनेकी छिन्। मिस वर्ल्ड प्रतियोगितामा सहभागि भए देखि श्रृङ्खलाको चर्चा सामाजिक संजाल, अनलाइन मिडिया देखि राष्ट्रिय दैनिक अखबारहरुमा चलिरहेको छ। सौन्दर्य प्रतियोगितालाई समिक्षा गर्ने विभिन्न अन्तर्राष्ट्रिय अनलाइन, फोरम, सामाजिक संजाल, युट्युब च्यानल आदिले पनि मिस वर्ल्ड २०१८ को प्रबल दाबेदारका रुपमा श्रृङ्खलालाई उभ्याएको देखिएको छ।

सामाजिक संजालमा मिस वर्ल्ड प्रतियोगितामा आफ्नो सहभागिता सम्बन्धी निरन्तर अपडेट, उनको सामाजिक कार्यमा संलग्नता, सामाजिक संजालमा सक्रियता र चर्चा तथा आम मानिसको भोटिङ सबैको आधारमा पपुलारिटी मुल्यांकन गर्दै मिस नेपाल २०१८ श्रृङखला खतिवडाले डिसेम्बर ३ मा मिस वर्ल्ड मल्टिमिडिया अवार्ड जितेकी हुन्। यो उपाधि संगै मिस वर्ल्ड २०१८ को उत्कृष्ट तीस भित्र सुरक्षित भइन्।

मिस वर्ल्ड मल्टिमिडिया अवार्ड सन् २०१२ देखि मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्रयाक अवार्डका रुपमा समावेश गरिंंदै आएको हो। यसको लगत्तै सोही दिन बेलुकी मिस वर्ल्ड प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिएको ब्युटी विथ अ पपर्स नामक अर्को फास्ट ट्रयाक अवार्डको पनि विजेता बन्न सफल भइन्।

एकातिर पपुलारिटीबाट मल्टिमिडिया र अर्कातिर हार्ट, ब्रेन र बिहेभियर ब्युटीको कोणबाट ब्युटी विथ अ पर्पस अवार्ड जितेकी श्रृङ्खला समग्रमा विश्व सुन्दरी विजेताका लागि प्याकेजका रुपमा प्रबल देखिएकी छिन्। ब्युटी विथ अ पपर्स अवार्ड सन् २००५ देखि मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्रयाक अवार्ड का रुपमा महत्वपूर्ण विधा अन्तर्गत हेरिएको पाइन्छ।

श्रृङ्खला खतिवडाले मिस वर्ल्डको लागि तयार पारेकी आफ्नो परिचायत्मक भिडियो पनि निकै आकर्षक छ। – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

श्रृङ्खलाको ब्युटी विथ अ पपर्स विधाको डकुमेन्ट्री उनकै गृहजिल्ला मकवानपुरको कैलाश गाँउपालिका ७, भार्तामा रहेको चेपाङ बस्तीमा केन्द्रित रहेको छ। सो भिडियोमा विकट ठाउँमा रहेको कुपोषग्रस्त उक्त चेपाङ बस्तीमा श्रृङ्खलाकै पहलमा स्वास्थ्य चौकी स्थापना भएको र स्थानीय बालबालिकाको उपचारमा उनले पुर्याएको सहयोगलाई समेटिएको छ। डिजाइन अनुसार स्वास्थ्यचौकी अपांग, अशक्त र बालबालिका मैत्री, वातावरणमैत्री छ।

स्वास्थ्यलाई सुविधा नभई आवश्यकताका रुपमा हेरिएको भन्ने सन्देश सो भिडियोबाट देखाइएको छ। मकवानपुरको सो चेपाङ बस्तीमा स्वास्थ्य चौकी निमार्णका लागि हङकङका नेपालीले १२ लाख बराबरको सहयोग गरेका थिए। हङकङबासी नेपालीले च्यारिटी डिनर गरी सो सहयोग संकलन गरेका थिए। जँहा श्रृङखलाको प्रत्यक्ष संलग्नता रहेको थियो।

यसरि बन्यो श्रृङ्खलाको मिस वर्ल्ड २०१८ ब्युटी विथ अ पर्पस, भिडियो हेर्नुहोस्

उपलब्धिमुलक यात्राको अन्य पाटो

मिस वर्ल्ड २०१८ को उत्कृष्ट तीस सम्मको यात्रामा आफूलाई उभ्याउन सफल श्रृङ्खलाको गत ११ अप्रिल २०१८ मा राजधानी होटल अन्नपूर्णमा संचालन भएको २३ औं संस्करणको मिस नेपाल प्रतियोगिताको विजेताका रुपमा मिस नेपाल वर्ल्ड २०१८ को ताज पहिरिन सफल श्रृङ्खला खतिवडा गत कार्तिक २३ गते शुक्रबार मिस वर्ल्ड २०१८ मा सहभागि हुन चीन प्रस्थान गरेकी थिइन्। उनको प्रतियोगिताको क्रममा चीनको बसाईं झन्डै एक महिनाको हुँदैछ।

मिस वर्ल्ड मल्टिमिडिया र ब्युटी विथ अ पर्पस उपाधि श्रृङ्खलाको अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धी हो। यस अगाडि उनी मिस वर्ल्ड टप मोडल कम्पिटिसनमा उत्कृष्ट ३२ भित्र पर्न सफल भएकी थिइन्। फास्ट ट्रयाक अवार्ड बाहेक मिस वर्ल्ड प्रतियोगिताको अर्को महत्वपूर्ण पाटो मानिएको हेड टू हेड च्यालेन्जमा पनि श्रृङ्खलाको उपस्थिति दरिलो रह्यो। यो च्यालेन्जका लागि उनी लक्जेमवर्ग, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम र माल्डोभा संगै ग्रुप १३ मा थिइन् । उनी च्यालेन्जमा पहिलो राउन्डबाट समूह विजेता बन्दै उत्कृष्ट दश भित्र परेकी थिइन् । दोस्रो चरणमा भने उनी सिंगापुरसित पराजित भएकी थिइन् । यसैगरी सान्या टुरिजम प्रोमोशन भिडियो अवार्डमा उनी सेकेन्ड रनर अप स्थान प्राप्त गर्न सफल भएकी छिन् ।

मिस वल्र्ड २०१८ का लागि तयार पारिएको श्रृङ्खलाको इन्ट्रोडक्सन भिडियोलाई यो आलेख तयार पार्दा सम्म १९ लाख साठी हजार ५ सय ८५ पटक हेरिएको पाइएको छ। यो भिडियो चार मिनेट ४१ सेकेन्ड लामो छ। यसैगरी ब्युटी विथ अ पर्पस लागि बनाइएको चेपाङ बस्तीमा श्रृङ्खलाको स्वास्थ्य चौकी बनाउने अभियानमा केन्द्रित भिडियोलाई ८ लाख ४७ हजार नौ सय ५८ पटक हेरिएको पाइएको छ। यो भिडियो ३६ मिनेट १५ सेकेन्ड लामो छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

मिस वर्ल्ड २०१८ मा अब
मिस वर्ल्ड प्रतियोगिता अन्तर्गत यस पटकको संस्करणको फर्म्याट अनुरुप यस पटक सहभागिता जनाएका नेपाल लगायत विश्वका ११८ मुलुकका सुन्दरीहरु मध्येबाट फास्ट ट्रयाक तथा हेड टू हेड च्यालेन्जबाट उत्कृष्ट ३०मा पर्न सफल सुन्दरीहरुको नाम घोषणा भइसकेका छन्। जस अन्तर्गत हेड टू हेड च्यालेन्जको समग्र विजेताका रुपमा मरिसस, भेनेजुएला, बंगलादेश, चीली, मलेशिया, भारत, सिंगापुर, थाइल्याण्ड, मेक्सिको र युगाण्डाका गरी दश जना सुन्दरीहरु रहेका छन्।

यसैगरी फास्ट ट्रयाक अवार्ड अन्तर्गत टप मोडल अवार्ड विजेता फ्रान्स, ट्यालेन्ट अवार्ड विजेता जापान, स्पोर्टस् च्यालेन्ज अवार्ड विजेता अमेरिका तथा मल्टिमिडिया र ब्युटी विथ अ पर्पस अवार्ड विजेता नेपालकी श्रृङ्खला खतिवडा गरी १४ जना सुन्दरीहरु टप थर्टीका लागि सुरक्षित भइसकेका छन् भने टप थर्टीका अन्यहरुको नाम निर्णायकहरुको निर्णयमा अधिन रहेको छ।

डिसेम्बर ८ मा संचालन हुने ६८औं संस्करणको मिस वल्र्ड २०१८ चीनको सान्या शहर स्थित सान्या सिटी एरिनामा भव्य रुपमा सम्पन्न हुँदैछ। यसै ठाउँमा गत वर्षको मिस वल्र्ड २०१७ सम्पन्न भएको थियो भने सान्या शहरमा मिस वल्र्ड प्रतियोगिता संचालन हुन लागेको यो नवौं अवसर हो। मिस वल्र्ड २०१७ की विजेता भारतकी मानुशी चिल्लरले वर्ष २०१८ को विजेता मिस वल्र्डको ताज पहि¥याउनेछिन्। यसको व्यग्र प्रतिक्षा हामी नेपाली लगायत समग्र विश्वलाई छ। अल द बेष्ट श्रृङ्खला फोर द ग्राण्ड फिनाले अफ मिस वल्र्ड २०१८।

SUBSCRIBE 👉