दिल खोलेर हाँस्न नपाएकी हर्षिका !


“न पहिलो फिल्म ‘अंगालो यो मायाको’बाट उनले प्रशंसा पाइन, न पछिल्लो फिल्म ‘मुखौटा’ले नै उनलाई सफलताको स्वाद चखायो।”

harshika-shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । नाम त उनको हर्षिका श्रेष्ठ हो तर हिरोइन बनेको चार वर्ष बितिसक्दा पनि उनले दिल खोलेर हाँस्न पाएकी छैनन। फिल्म पाउनै गाह्रो हुन्छ, बल्लतल्ल पाएको फिल्म पनि सोचेजस्तो हिट हुँदैन। हल्काफुल्का हिट भयो भने पनि क्रेडिट अन्य कलाकारले नै पाउँछन। यस्तै पीडा भोगिरहेकी छिन् हर्षिकाले। अनि कहाँबाट उनको मुहारमा हाँसो छाउँछ र ? न पहिलो फिल्म ‘अंगालो यो मायाको’बाट उनले प्रशंसा पाइन, न पछिल्लो फिल्म ‘मुखौटा’ले नै उनलाई सफलताको स्वाद चखायो।

अर्पण थापा निर्देशित यो फिल्म ‘मुखौटा’मा हर्षिकाको भूमिका अत्यन्त कमजोर रहेको भन्दै आलोचना गरियो। हुन पनि फिल्ममा उनले चुरोट तान्ने र सौगात मल्लबाट पिटाइ खानेबाहेक तेस्रो काम गरेकी छैनन्। त्यसैले खुट्टा मर्कदा पनि प्रिमियरमा सहभागी भएकी उनको खुशी दुई पल पनि टिक्न सकेन । एकातिर फिल्म सुपरफ्लप भइदियो, अर्कोतिर भुमिका महत्वहिन भएको भन्दै आलोचना सहनुपर्‍यो। त्यसमाथि राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, निशा अधिकारीजस्ता नामी कलाकारका सामू उनको कुनै ‘भाउ’ देखिएन।

उसो त हर्षिकाले अर्थहिन भूमिका निर्वाह गरेको ‘मुखौटा’ पहिलो फिल्म होइन्। यस अगाडी पनि उनलाई ‘कर्कश’मा यस्तै भूमिका देखिएको थियो। औसत व्यापार गरेको यो फिल्ममा उनी दयाहाङ राई, सुरजसिंह ठकुरी, सत्यराज आचार्यजस्ता चर्चित कलाकारको भिडमा उनी छायाँमा परिन्। यस्तै यस्तै फिल्मका कारण ब्राण्ड बिग्रिएर होला, उनलाई राम्रो ब्यानरले लिड रोलमा पत्याएका छैनन्। सायद यसैलाई भनिएको हुनुपर्छ, समयभन्दा पहिले र भाग्यभन्दा धेरै केही पाईदैन्।

यद्यपी २७ असारमा रिलिज हुने ‘नागबेली’ र रिलिज मिति नतोकिएको अर्को फिल्म ‘साइकल’ले भने उनको करिअरमा माथि उकास्ने अपेक्षा गरिएको छ।

SUBSCRIBE 👉