लोकप्रिय गायक युवराज चौलागाईको ‘देवतालाई भाकी…’


दर्जनौ चर्चित गीतहरुका लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीत रिलिज भएको छ। युवराजको आफ्नै युट्युब च्यानल मार्फत ‘देवतालाई भाकी…’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

कौशिला खनाल कर्माचार्यको शब्द रहेको गीतमा गायक युवराज चौलागाईंको स्वर र सङ्गीत सुन्न सकिन्छ। गीतलाई उदाय राज पौडेलले एरेन्ज गरेका हुन्।

भिडियोमा गायक चौलागाईंलाई नायिका मेनुका प्रधानले अभिनयमा साथ दिएकि छिन्। चितवनको मेघौलीमा भिडियोको छायाँकन गरिएको हो। भिडियोमा युवराजलाई प्रकृतिप्रेमी देखाईएको छ। गायक चौलागाईं भन्छन् – “पछिल्लो समय केही डान्सिङ नम्बर गाएको थिएँ। तर यो गीतमा जनावर र प्रकृति रक्षाको सन्देश भिडियोमार्फत दिन खोजेका छौं।”

जीवन रिजालको सिनेमेटोग्राफी रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी दिपक राज सुनारले गरेका हुन्। म्युजिक भिडियो भुषण दाहालले निर्देशन गरेका हुन्।

चौलागाईंको किन टाढा भयौ, तिम्रा डोला डोला , हारे हारे , लत्तर पत्तर, मनको दाग, मिस गरे , झुटो माया , एक्लै जिउने , हरेक शब्द , तिम्रो माया , पल पल चोट, किराना पसल लगायत नेपाली गीतहरु चर्चित छन्।

SUBSCRIBE 👉