आफ्नै देश फर्कीइन नेपाली फिल्मकि भुटानी नायिका


दीपेन्द्र लामाको निर्देशिनमा निर्माणाधीन नेपाली फिल्म ‘२ नम्बरी’ कि भुटानी नायिका उगेन छोदेन चार्टर्ड फ्लाइट मार्फत आफ्नो देश फर्किएकी छिन्। नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गरिरहेकी उनि ८० दिनअघि भुटानबाट काठमाडौं आएकी थिइन्।

शनिवार बिहान उनीलाई लिन भुटानबाट सरकारी विमान सेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुगेको थियो। यतिबेला उगेनको २१ दिन लामो क्वोरेण्टाइन सुरु भइसकेको छ। पारोको ओलाथाङ होटेलमा २१ दिनको क्वोरेण्टाइन पछि उनी थिम्पु प्रस्थान गर्नेछिन्।

किरण नेपालीको लगानीमा निर्माणाधीन फिल्म ‘२ नम्बरी’को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो। निर्देशक लामाका अनुसार अझै ७५% छायांकन बाँकी छ। लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ। उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन्। फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन्। आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो।

‘लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारनटान अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु,’ उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन्, ‘अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो। अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ।’

लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन्। ‘२ नम्बरी’मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन्। यो फिल्ममा पल शाह र वर्षा राउतको पनि अभिनय रहेको छ।

SUBSCRIBE 👉