विनोदले भने, ‘मलाई जहिल्यै पनि फिल्म निर्देशनको लागि मन हुन्थ्यो, त्यो समय अब आएको छ।’
ग्ल्यामर नेपाल, काठमाडौँ । नेपाली मूलका बलिउडका चर्चित सिनेमाटोग्राफर विनोद प्रधानले फिल्म निर्देशन गर्ने भएका छन्। बलिउड फिल्म ‘देवदास’, ‘मुन्नाभाइ एमबीबीएस’, ‘रंग दे बसन्ती’लगायतका अवार्ड विजेता फिल्ममा सिनेमाटोग्राफर रुपमा काम गरिसकेका विनोदले चाँडै नै निर्देशकको पदीय टोपी शिरमा लगाउन लागेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार लभ स्टोरी फ्लेबरको फिल्म ‘लभस्टोरी एगेन’का निर्माता अनु र शशी रञ्जन हुनेछन्। फिल्मको नायिकामा निर्माताकी पुत्री अनुष्का रहने भएकी छिन्। विनोदले फिल्मको सुटिङ मौरिससमा गर्ने भएका छन्, जसका लागि उनी नायकको खोजीमा छन्। ‘म यो फिल्ममा सिनेमाटोग्राफरकै रुपमा काम गर्न खोजेको हो र यसको निर्देशनमा राहुल रावैललाई दिन खोजिएको थियो। तर निर्मातासँग केही कुरामा असमझदारी बनेपछि राहुलको ठाउँमा मलाई लिएका छन्।’ विनोदले भने, ‘मलाई जहिल्यै पनि फिल्म निर्देशनको लागि मन हुन्थ्यो, त्यो समय अब आएको छ, राम्रो स्क्रिप्ट लेख्ने मान्छेको खोजीमा हामी जुटेका छौं।’
विनोदले निर्देशन गर्ने फिल्मलाई विनोदका नजिकका साथी गोपाल शाहले खिच्नेछन्। गोपालले यसअघि सलमान खान अभिनित फिल्म ‘वीर’को छायांकन गरिसकेका छन्। पहिले निर्देशकका लागि कुरा गरिएका रावैलले फिल्मका प्रमुख नायकको खोजीका लागि देशव्यापी अभियान चलाउन लागिएको बताए।

