सुरेश भन्छन् ‘रोयल्टी संकलनमा सहयोग भएन’


suresh-adhikari

ग्ल्यामर नेपाल, काठमाडौं । संगीत रोयल्टी संकलक समाजका नवनिर्वाचित अध्यक्ष सुरेश अधिकारीले संगीत उद्योग र यसको रोयल्टी संकलनकै बारेमा बुझेकाहरुको असहयोगका कारण रोयल्टी संकलनमा समस्या भइरहेको बताएका छन्। राष्ट्रिय लोक संचारकर्मी नेपालको संयोजनमा राजधानीको अनामनगरस्थित मिडिया इन्टरनेशनलमा सम्पन्न पाँचवटा लोकगीतको सामुहिक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगीत उद्योगको राष्ट्रिय गार्हथ्य उत्पादनमा समेत योगदान रहने प्रचुर सम्भावना भएपनि राज्य र सम्बन्धित निकायको वेवास्ताका कारण नेपाली संगीत उद्योग ओरालो लागेको तर्क गरे।

नेपाली सञ्चारमाध्यमका लगानीकर्ताले पनि रोयल्टी संकलनमा असहयोग गरेको उनले दाबी गरे। कार्यक्रममा रंगकर्मी भोला अधिकारीको पुर्वेली गीति संग्रह ‘पुर्वै मोरङको’, कुमारी गुरुङ लमजुङको ‘सालैजो’ तथा मध्यपहाडी बस व्यवसायी संघ र अर्जुन खत्रीको ‘मध्य पहाडी’ लगायतका गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा नयाँ गीत बजारमा ल्याएका सर्जकहरुले नेपाली सांगीतिक क्षेत्रमा गरिएको लगानी बालुवामा पानी सरह भएपनि संगीत उद्योग सुध्रने आसमा सांगीतिक यात्रा निरन्तरता दिएको बताएका थिए।

राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष हरिवल्लभ नेपालले श्रष्टाको परिश्रमको सम्मानका लागि रोयल्टी संकलनकमा सहयोग गर्न राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले सक्दो सहयोग गर्ने वचन दिए । त्यस्तै नेपाल संगीत उद्योग संघका उपाध्यक्ष सुर्य मगरले पनि नेपाली सांगितीक बजारको सुधारका लागि एक हुने बेला आएको बताए। संगीत व्यवसायी तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले संगीत उद्योगमा लगानी गरेर टिक्ने अवस्था नरहेको गुनासो गरे।

SUBSCRIBE 👉