द भ्वाइस अफ नेपाल-३ विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक


द भ्वाइस अफ नेपाल-३ का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन्। गृह मन्त्रालयले विजेता किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाएको छ। उनी अमेरिकी नागरिक हुन्। एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउँछन्। द भ्वाइस अफ नेपाल-३ शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए। केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो।

गजमेरले नेपाल बस्न पाउने अवधि गुजारी सकेकाले अध्यागमनले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो। गजमेर सन् २०२१ भर नेपाल आउन पाउँदैनन् उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन्। अब गजमेर सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन्। गत सोमबार (असोज ११ गते) कतार एयरको क्युआर ६५० नम्बरको उडानबाट नेपाल आएका थिए। सोही दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट उनलाई अमेरिका फिर्ता पठाइदिएको थियो।

द भ्वाइस अफ नेपालको तेस्रो संस्करणमा गजमेरलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए। भुटानबाट विस्थापित भएपछि गजमेर परिवारसहित झापाको शरणार्थी शिविरमा बस्दै आएका थिए। संयुक्त राष्ट्रसंघले भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुर्नवास कार्यक्रम सुरु गरेपछि गजमेर अमेरिका गएका थिए।

किरण द भ्वाइस अफ नेपालको विजेता बनेर अमेरिका प्रस्थान गर्दा ओभर स्टेवापत जरिवाना समेत तिरेका थिए। तर यसपटक नेपाल आउँदा उनले जरिवाना तिरेको अपडेट विमानस्थलमा नभैसकेको र अपडेटका लागि केही समय लाग्ने भएपछि किरण अमेरिका नै फर्किएका हुन्। किरणलाई सन् २०२१ मा नेपाल प्रवेश गर्न गाह्रो रहेको वुझिएको छ। द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार, अध्यागमन विभागले अपडेट गरेपछि किरणलाई बोलाउने बताएको छ, तर यो बर्ष किरण नेपाल प्रवेश गर्न पाउने संभावना भने कम छ। – एसनेपाली डट कम

SUBSCRIBE 👉