ग्ल्यामर नेपाल, काठमाडौं। पुस्तकमा मात्र पढ्दै आइएको नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला जीवनकथा अब पर्दामा हेर्न पाइने भएको छ। सिन्धुलीको दुम्जास्थित बीपीको पुख्र्यौली थलोबाट फिल्मको मुहुर्त भई छायांकन थालिएको छ।
बीपीका पिता कृष्णप्रसादको पुख्र्याैली घरनजिक रहेको कुशेश्वर मन्दिरमा औपचारिक रुपमा नरिवल फुटाई बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले फिल्मको शुभारम्भ गरे। वीपीले २००७ सालमा आन्दोलनको उद्घोष गरेकै स्थानबाट फिल्मको निर्माणको काम शुरु भएकोमा अध्यक्ष भट्टराईले खुशी व्यक्त गरे । फिल्मलाई प्रतिष्ठानले नै निर्माण गर्न लागेको हो।
फिल्मका लेखक दीपेन्द्र दाहालका अनुसार बीपीको समग्र जीवनयात्रा तथा संघर्षलाई जीवन्त रुपमा फिल्ममा प्रस्तुत गरिनेछ। ८१ वटा दृश्य रहने फिल्ममा पूर्वराजाहरु त्रिभुवन, महेन्द्र, वीरेन्द्रसहित बीपीका सहयात्री सुवर्णशम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र वर्तमान प्रधानमन्त्री सुशील कोइरालासम्मको वीपी सामिप्यता प्रस्तुत गरिनेछ।