राजधानीमा देविका बन्दनाको एकल साँझ हुने


ग्ल्यामर नेपाल, काठमाडौं । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै शैलीको स्वरका कारण चर्चामा आएकी गायिका देविका बन्दनाले आगामी साउन १६ गते राजधानीमा एकल साँझ गर्ने भएकी छन्। एक वर्ष पहिले बुटवलमा एकल साँझ गरेकी देविकाले राजधानीको होटल रयाडिसनको भव्य सभाकक्षमा उपस्थित दर्जनौं दर्शकलाई ‘मेलोडी नाइट विथ देविका बन्दना’मार्फ मनोरञ्जन दिलाउनेछिन्।

देविकाले चारवर्ष अघि पहिलोपटक अमेरिका र लण्डनमा एकल साँझ गरेकी थिईन्। ‘त्यो कार्यक्रममा मैले म्युजिक ट्रयाकमा गीत गाएको थिएँ,’देविकाले भनिन्,‘यसपटक भने म पूर्ण रुपमा सांगीतिक व्याण्डको साथमा प्रस्तुत हुनेछु, बन्दनाबाट शुरु हुने कार्यक्रममा राष्ट्रिय गीत, शुभकामना गीत र आफ्ना चर्चित बेष्ट र फाष्ट ट्रयाकका गीतहरु प्रस्तुत गर्नेछु।’ उनलाई युगल गायनमा विजेश पौडेल र छिरिङ भोटियाले साथ दिनेछन्। अन्य गायकको भने फाइनल हुन बाँकी छ।

करिब डेढ घण्टासम्म चल्ने कार्यक्रममा उनले करिब १५ देखि १६ वटासम्म गीत गाउनेछिन्। ‘अच्छा लेकिन’, ‘भरे आउँछु सपनीमा’ ‘नेपाली माया चाहिन्छ’ सहित ‘यस्तै रहेछ यहाँको चलन’लगायतका चर्चित गीत गाउनेछु,’ उनले थपिन्,‘सबै गीत गाउन नभ्याइने भएकाले पनि ती गीतलाई छोटो छोटो रुपमा प्रस्तुत गर्नेछु।

देविकाले ‘हे मायालु तिमीलाई धेरै धेरै सम्झना’ बोलको गीतबाट गायन यात्रा शुरु गरे पनि उनी ‘ एउटा परदेशी’ र ‘यस्तै रहेछ यहाँको चलन’ गीतबाट चर्चामा आएकी हुन्। फिल्म ‘कस्तुरी’मा रहेको ‘तिमीलाई मेरो यो आँखामा’ बोलको गीतबाट पाश्र्वगायन शुरु गरेकी उनले विभिन्न फिल्ममा हिट नम्बरमा गीत दिईसकेकी छन्। तर अहिले भने उनी फिल्मी गायनमा कमै सक्रिय छिन्। ‘देशको अवस्थाले फिल्म पनि कम बन्न थालेपछि एल्बमका गीतमा बढी समय दिन थालेकी छु।’ देविकाले प्रष्ट्याइन् । उनको ‘आरती’ भिडियो भजन संग्रह हुँदै ‘शुभकामना’ सम्म आइपुग्दा चौधवटा सोलो एल्बम श्रोतामाझ ल्याईसकेकी छन्।

SUBSCRIBE 👉