कोरियाली नृत्यमा झुमे दर्शक


korean-dau-in-tokha

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल र कोरियाको संस्कृतिलाई जीवन्त र थप मजबुद बनाउने उद्देश्यले राजधानीको टोखामा दुई देशबीचको विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ। स्थानीय भगवती क्लब र कोरियास्थित प्याशेफिक एशिया सोसाईटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल र कोरियाका कलाकारहरुले संयुक्त रुपमा आफ्नो प्रस्तुति देखाएका थिए।

कोरियाली कलाकारहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गर्दा सयौं टोखाली संगीतप्रेमीहरु मन्त्रमुग्ध भएका थिए। उनीहरुले कोरियाली कलाकारहरुलाई ताली र हुटिङले हौस्याएका थिए। कोरियाली कलाकारहरु थाग्दासमेत दर्शकहरुले सिमसिमे पानीको पर्वाह नगरी ‘वान्समोर’ गरिरहेका थिए। उता कोरियाली गीतमा टोखालीहरुले पनि गहकिलो नृत्य प्रस्तुत गरे। कोरियाली कलाकारहरुले थाल्छुम अर्थात थाल बजाएर गरिने थाल नाच देखाए। जुन नाच कोरियामा ठुलालाई आदर र सम्मान गर्दा नाचिन्छ। कोरियन भाषामा यस नृत्यलाई ‘मान्स डान्स’ भनिन्छ।

नेपाल र कोरियाको भाषा नमिले पनि एकअर्काको संस्कृति मिल्दो जुल्दो भएकाले दुई देशको संस्कृति बचाई राख्न पनि यस्तो नृत्य महत्वपूर्ण भएको सोसाईटीका अध्यक्ष छङ् थुङ गोले बताए। कोरियाली कलाकारहरु किमयाङ सुल, ईसीन ले, सिङ हे रान, छुङ उ छोङ् र इगोन थोक र टोखाली कलाकारहरु सविना श्रेष्ठ, शर्मिला डंगोल, अमृता डंगोल र सन्ध्या कार्कीले नृत्य प्रस्तुत गरेका थिए। सांगीतिक कार्यक्रम प्रस्तुत गर्न कोरियाबाट झण्डै दुई दर्जन कलाकारहरु नेपाल आएका छन् । कार्यक्रममा उत्कृष्ट गीत, संगीत तथा नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमको उद्घाटन काठमाडौ क्षेत्र नम्बर दशका नेपाली कांग्रेसका सभासद राजन केसीले गरेका थिए।

SUBSCRIBE 👉