निर्देशक समाजको साधारणसभामा तनाव


Dinesh-DCग्ल्यामर नेपाल, काठमाडौं । सदस्यता नविकरण गर्ने समय नदिई वार्षिक साधारण सभा गरेको भन्दै नेपाल चलचित्र निर्देशक समाजको शुक्रबारको वार्षिक साधारण सभामा असन्तुष्ट पक्षहरुले नाराबाजी गरेपछि समाजको साधारण सभामा अवरोध भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाकक्षमा भएको १० औ साधारण सभामा केहि विपक्षी समूहले विरोध गरेपछि केहीबेर अवरोध भएको थियो । समाजका सल्लाहकारको उपस्थितिमा दुवै पक्षबीच वार्ता भएपछि बन्दसत्रबाट साधारणसभा सार्ने निर्णय गरिएको थियो ।

समाजमा २ सय ५० भन्दा बढी सदस्य भए पनि साधारणसभाका लागि ६४ जनाको मात्र नविकरण गरिएको थियो । समाजका महासचिव निलहरि काफ्लेले कार्यक्रम चलाईरहँदा एमएस अग्रज, ऋषि लामिछानेलगायतले स्टेजमै गएर साधारणसभा रोक्न माग गरेपछि माहौल तनावपूर्ण बनेको थियो । ‘आर्थिक वर्ष सकिनासाथ तुरुन्तै साधारणसभा राख्नु आफैमा हाँस्यास्पद छ,’केसीले भने,‘त्यसमाथि पनि समय नराखीकन एक्कासी नविकरणको कुरा आउनु आपत्तिजनक कुरा हो ।’
Dharmendra-Marwaita-Pappuसमाजका अर्का सदस्य डब्बु क्षेत्रीले समाजको सदस्यता सकिने मिति असार ३२ गतेसम्म भएको र साधारण सभा साउन २ गते बोलाइनु षडयन्त्रपूर्ण रहेको बताए । उनीहरुले कोरम नै नपुगी साधारण सभा गर्नु अमान्य हुने भन्दै सम्पूर्ण साधारण सदस्यहरुलाई नविकरण गर्न नदिएसम्म साधारण सभा गर्न नदिने अडान राखेका थिए ।  समाजका सल्लाहकारहरु लक्ष्मीनाथ शर्मा, उज्जवल घिमिरे, मोहन निरौलालगायतको मध्यस्थतामा दुवै पक्षबीच वार्ता भएपछि उद्घाटन सत्र सञ्चालन गर्न दिने र बन्दसत्रका लागि अर्को मिति तोक्ने निर्णय गरेपछि माहौल सामान्य बनेको थियो । कार्यक्रमका प्रमुख अतिथि बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता तनाव शुरु भएपछि कार्यक्रमबाट निस्किएका थिए । समाजका अध्यक्ष दिनेश डिसीले संस्था भित्र असन्तुष्ट बढ्नु आफैमा दुःखको कुरा रहेको जनाउँदै आफुहरुले मिलाएर लाने प्रयास गरेको बताए ।

अध्यक्ष डिसीको कार्यकालमा अपारदर्शी क्रियाकलाप गरेको र व्यक्तिगत फाइदाका लागि संस्थालाई प्रयोग गरेको भन्दै केहि महिना अगाडी कार्यसमितीका ६ जना पदाधिकारीहरुले समाजबाट राजिनामा दिएका थिए । समाजको कार्यक्रममा फिल्म ‘नाइ नभन्नु ल २’ का निर्देशक विकास आचार्यलाई ‘वर्षका लोकप्रिय निर्देशक सम्मान ०७१’बाट सम्मानित गरिएको थियो । स्वास्थ्य समस्याका कारण कार्यक्रममा उपस्थित नभएपछि फिल्मका कलाकार तथा निर्माण नियन्त्रक उत्तम केसीले सम्मानपत्र ग्रहण गरेका थिए ।

SUBSCRIBE 👉