गायिका रेखाले खोलिन् फाउण्डेसन, विद्यालय र हेल्प नेपाललाई सहयोग


Rekha-Shahग्ल्यामर नेपाल, काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानीमा’की गायिका रेखा शाहले आफ्नो नामको ‘रेखा शाह फाउण्डेसन’ स्थापना गरेकी छन् । उनले बिहीबार राजधानीमा मिडियामाझ संस्थाको गठनको जानकारी दिँदै गरीब र असहायलाई छात्रवृत्ति स्वरुप दुई विद्यालय र एक सामाजिक संस्थालाई केही रकम पनि हस्तान्तरण गरिन् ।

रेखाले निजी तवरबाट दुई सामुदायिक विद्यालय कन्या मन्दिर उच्च मावि क्षेत्रपाटी र कान्ति इश्वरी राज्यलक्ष्मी माध्यमिक विद्यालय गणेशस्थानमा अध्ययन गर्ने २० जना गरीब तथा जेहेन्दार बालबालिकाको एक वर्षको सम्पूर्ण शैक्षिक खर्च वापत लाग्ने शुल्क स्वरुप एक लाख ३ हजार २ सय १० रुपैयाँ र बालबालिकाको शिक्षामा सहयोग पु¥याउँदै आएको परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’ लाई ११ हजार १ सय ११ रुपैंयाँ हस्तान्तरण गरिन् ।

‘म मध्यम वर्गीय परिवारमा जन्मिए पनि मैले पढाईमा निकै संघर्ष गर्नुप¥यो, मेरो हजुरबुवाले मलाई पढ्न निकै हौसला दिनुभयो,’रेखाले भनिन्,‘विद्यालयमा म एक्लो महिला विद्यार्थी थिएँ, त्यसकारण पनि मैले विशेष छात्राहरुले राम्रो शिक्षादिक्षा पाउन भनेर विद्यालय तथा संस्थालाई सहयोग गरेकी हुँ ।’ उनले फाउण्डेसनलाई आर्थिक सहयोग जुटाउन आफुले चाँडै नै सांगीतिक समूह सुरसुधासँग सहकार्य गर्दै विश्व भ्रमण गर्ने र त्यसको शुरुवात जापानबाट हुने जानकारी दिईन् । ‘फाउण्डेसनमार्फत नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिने स्रष्टा(गीतकार, संगीतकार, गायक र गायिका)लाई सहयोग र सम्मानसमेत गर्नेछु ।’ उनले भनिन् ।

कार्यक्रममा सुरसुधाका कलाकार सुरेन्द्र श्रेष्ठले आफुहरुले रेखाको ‘सिमसिमे पानीमा’ गीतलाई रेखाकै अनुमतिमा विभिन्न कार्यक्रममा प्रस्तुत गर्ने र त्यसवापत रोयल्टी तिर्ने गरेको बताए । हेल्प नेपाल नेटवर्कका संस्थापक रविन्द्र मिश्रले एउटा महिलाले संस्था खोलेर अन्य महिलाका लागि काम गर्नु खुशीको कुरा भएको बताए ।

SUBSCRIBE 👉