‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश


निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल – अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ। एक पोस्टर रिलिज गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी दिएको छ। ‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन्। फिल्ममा उनी अगस्त्यको भूमिकामा रहनेछन्।

फिल्मकालागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताएका छन्। चौधरी स्वयंको लेखन रहने फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्दैछन। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ भने सिनेम्याटोग्राफर राजेश श्रेष्ठको काँधमा फिल्म खिच्ने जिम्मेवारी छ।

फिल्ममा नेपाली कलाकारहरु सँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहने बताइएको छ। निर्देशक सहितको टिम चाँडै भारतीय कलाकारसँग कागजी सम्झौता गर्न मुम्बई प्रस्थान गर्ने तयारीमा छ। दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट तयार भैसकेको छ। आगामी बैशाखबाट छायांकन सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए।

‘अगस्त्य’लाई उत्कृष्ट बनाउन आफूले विगत दुई वर्षपछि अथक मिहिनेत गरिरहेको बताउँछन् चौधरी। यो फिल्मलाई उनले आफ्नो ‘डू एन्ड डाई’को रुपमा लिएका छन्। त्यस्तै, निर्माता प्रकाश मल्लले कथावस्तु सुनेपछि फिल्म निर्माणका लागि सहर्ष राजी भएको बताउँदै फिल्म स्तरीय बन्ने विश्वास व्यक्त गरे। हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट फिल्मको शीर्षक जुराइएको हो।

SUBSCRIBE 👉