पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने


अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माण हुने भएको छ। पललाई फिल्मको मुख्य नायक लिने योजनासहित एक निर्माताले चलचित्र विकास बोर्डमा फिल्म दर्ता गराएका छन्। राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका रहने गरी फिल्म ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो। पलसहित कविता राय र आरएल लामा कलाकारको रुपमा उल्लेख गर्दै स्वीकृति पत्र लिइएको हो।

पल र कविताले थारू गीत ‘ओ सजन’ र ‘ओ सजन २’मा सहकार्य गरेका थिए। सोही गीतको नाममा फिल्म निर्माण हुन लागेको हो। फिल्म निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि ३ वर्ष उल्लेख गरिएको छ। फिल्मको कुल अनुमानित लागत १ करोड रूपैयाँ तोकिएको छ। फिल्मका लेखक एवं निर्देशक शिवम अधिकारी हुन्।

नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन्। उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको थियो भने जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो।

नवलपुर अदालतको फैसलालाई पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्। अदालतबाट फैसला नआउँदै निर्माताले उनलाई लिएर फिल्म निर्माण अनुमति लिएका हुन्।

SUBSCRIBE 👉