साम्दे र अनाथका लागि गुञ्जँदै गम्बु


gambu-sherpa
ग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ हाँस्यकलाकार स्व. साम्दे शेर्पाको ट्रष्ट साम्दे शेर्पा स्मृति ट्रष्ट र अनाथ बालबालिकाहरुको सहयोगार्थ गायक गम्बु शेर्पाले आगामी बिहीबार राजधानीमा एकल साँझ गर्ने भएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको कार्यक्रममा गम्बुले दर्जन बढी गीत गाउनेछन् ।

कार्यक्रमबारे जानकारी दिन राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गायक शेर्पाले धन भएर नभई मन भएर अनाथ तथा ट्रष्टका लागि सहयोग गरेको बताए । ‘म आफै पनि टुहुरो हुँ, त्यसकारण म अनाथ बालबालिका देख्नासाथ भावुक बन्छु, त्यसकारण पनि उनीहरुको गाँस, बास र कपासको व्यवस्था दिलाउन फुड क्लोथ एजुकेसन संस्था स्थापना गरेर त्यसलाई सहयोग गर्नेछु,’उनले भने,‘कलाकार साम्दे दाईको योगदान हाम्रा लागि पनि गर्वको कुरा हो, उहाँको ट्रष्टका लागि पनि गीत गाउन पाउनु मेरा लागि अहोभाग्य हो ।’ फुड क्लोथ एजुकेसन संस्था गम्बुसहित उनका सात जना साथी मिलेर स्थापना गरिएको हो । उनका अनुसार संस्थामार्फत ४ जना बालबालिका अध्ययनरत छन् ।

सन् १९९८ बाट संगीत क्षेत्रमा प्रवेश गरेका गम्बुले हालसम्म ६ वटा एल्बम श्रोतामाझ ल्याईसकेका छन् । ६३ वटा भन्दा बढी गीत रेकर्ड गराईसकेका उनले अमेरिका र क्यानडामा दुई–दुई वटा एकल कार्यक्रम प्रस्तुत गरिसकेका छन् । केन्द्रका अध्यक्ष लाक्पा शेर्पाले कार्यक्रमका लागि हालसम्म विभिन्न संस्था तथा व्यक्तिबाट १५ लाख रुपैंयाँ बराबरको सहयोग प्राप्त भईसकेको जानकारी दिए । केन्द्रले चाँडै नै साम्देको नाममा ‘साम्दे शेर्पा स्मृति पुरस्कार’ पनि स्थापना गर्ने सोच बनाएको खुलाए ।

SUBSCRIBE 👉