मोडल अफ द इयरको अडिसन शुरु


IMG_9806
ग्ल्यामर नेपाल, काठमाडौं । मोडलिङ पेशालाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाई विश्व बजारमा नेपाल र नेपालीको पहिचानलाई श्रीवृद्धि गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले राजधानीमा आयोजना गर्न लागेको ‘मोडल अफ द इयर २०१४’का लागि शुक्रबारबाट अडिसन शुरु भएको छ । आयोजकले राजधानीको त्रिपुरेश्वरमा शुक्रबार २५ जना पुरुष मोडलको अडिसन लिएको छ ।

संस्थाका सिईओ रवि धमलाले उपत्यका र उपत्यका बाहिर अडिसन गरी २०–२० जना मोडल फाइनल प्रतियोगिताको लागि छनौंट गरिने जानकारी दिए । उनका अनुसार उपत्यका बाहिर पोखरा र धरानमा अडिसन गरिनेछ । ‘काठमाडौं र ललितपुर पछि हामी अडिसनका लागि बाहिर जानेछौं ।’ धमलाले भने । अडिसन साउन ३१ गते सकिनेछ । शुक्रबारको अडिसनमा कोरियोग्राफर जयनसुब्बा मानन्धर, नायिका आयुशा राई, निराजन थापा र भाष्कर नेपाल निर्णायक रहेका थिए ।

IMG_9777

नेक्स्ट मोडलका प्रबन्ध निर्देशक सुवाससिंह ठकुरीले प्रतियोगिताबाट प्रतिष्पर्धीहरुको पेशागत क्षमता, कार्यदक्षता र व्यावसायिकतामा थप प्रेरणा प्रदान गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका संस्कृति पहिचानहरुलाई विषयगत ढंगले परिचालन गरी नेपाल र नेपालीहरुको सान बढाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले भने । ठकुरीका अनुसार अन्तर्राष्ट्रिय किसिमको कोरियोग्राफी, फोटोग्राफी, व्यक्तित्व विकास, फिटनेस कक्षाहरु, मार्केटिङ स्किलका कक्षाहरुलगायत देशका प्रमुख शहरहरुमा गरिने ‘फेसन रिभोलुसन टुर’ कार्यक्रमको आकर्षण हुनेछ । सिईओ धमलाले पन्ध्र दिनको आधारभूत तालिमपछि व्यवहारिक प्रशिक्षणका लागि पोखरा, हेटौडा, धरान, बनेपा र काठमाडौंलगायतका स्थानमा फेसन टुर गरिने बताए ।

असोज ४ गते राजधानीमा हुने फाइनल प्रतियोगिताको विजेताले एक लाख रुपैंयाँसहित मोडल एम्बेसेडर, निजी व्यावसायिक वेभसाइट, ल्यापटप, मोबाइल फोनलगायतको पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको फोटोग्राफी राजभाइ सुवाल, कमल श्रेष्ठ, कविन्द्रमान शाक्य र क्याराम्रोडटकमले गर्नेछन् भने कोरियोग्राफी जयनसुब्बा मानन्धर र प्रशान्त ताम्राकारले गर्नेछन् । रोजिन शाक्य, सुवाससिंह ठकुरी, यतना पाण्डे र प्रमोद वंसलले कार्यक्रमको संयोजन गर्नेछन् ।

SUBSCRIBE 👉