
दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायाँकन थालेको फिल्म ‘परालको आगो’ को छायाँकन सकिएको छ। ४० दिनमा फिल्मको छायाँकन सकिएको जानकारी फिल्म निर्माण टिमले गरेको हो। फिल्मको छायाँकन सकेसँगै निर्माण टिमले फिल्मका केहि तस्विरहरु सार्बजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेको छ।
फिल्मको छायांकन सेड्युल ३० दिनको थियो तर फिल्मका कलाकार, टेक्निसियन लगायतको अहोरात्र खट्दा पनि जेनजी आन्दोलन, वर्षा र पहिरोको कारण सेड्युल भन्दा १० दिन ढिला छायांकन सकिएको निर्माता सुशील पोखरेलले बताए।
गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपानेका साथै बालकलाकार एन्जिला बाँनिया लगाएतका कलाकारहरुले अभिनय गरेका छन्।
सुशील देवकोटाको लेखन रहेको यो फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्। यस फिल्ममा गीत सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतले लेखेका छन्। त्यसै गरि संगीतकारमा शान्ति ठटाल, सत्य स्वरूप र अभिनेता प्रकाश सपुतकै रहने निर्माण पक्षले जानकारी दिएको छ।
यो फिल्मलाई संकल्प भुजेलले खिचेका हुन् भने फिल्मको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। नगेन्द्र घिमिरेले प्रोडक्सन म्यानेजरको जिम्मा लिएको यो फिल्मको वितरण आर.आर फिल्मस र ओटीटी राईट ओएसआरले रिलिज पुर्वनै लिईसकेको छ।
यो फिल्म आगामी बर्षको बैशाख ११ गतेबाट प्रदर्शनमा आउने जानकारी निर्माता सुशील पोखरेलले दिएका छन्। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ बनाइएको हो।
करिब पाँच दशक (४७ वर्ष)अघि प्रताप सुब्बा निर्देशित फिल्म ‘परालको आगो’ रिलिज भएको थियो। जुन फिल्म अत्याधिक सफल भएको थियो।
