स्वदेशी कलाकार, विदेशमा तिज, यु ट्युबमा गीत, को को छन् हिट ? (भिडियोहरु सहित)


ग्ल्यामर नेपाल, काठमाडौं । तीजलाई नेपाली चेलीहरुको महान चाड मानिन्छ। यो कुनै नौलो कुरा भएन। बरु नौलो कुरा के भयो भने चेलीहरुको चाड तीज कलाकारहरुका लागि कमाउने दरिलो माध्यम बनेको छ। अझ तीजबाट फाइदा उठाउनेमा लोककलाकार निकै अगाडी देखिएका छन्। तीज आउनु महिना दिन अगाडी नै तीज भाका र लयमा गाइएका दर्जनौं गीतहरुले बजार तताएबाट नै कलाकारको लागि यो पर्व कमाउने दरिलो माध्यम बनेको पुष्टि हुन्छ। अझ कति कलाकार त तीज गीतकै भरमा कार्यक्रमका लागि वर्षभरी देश/विदेश घुम्छन्, टन्न पैसा कमाउँछन्।
sunita-dulal-komal-oli
तीज गीतबाटै आफ्नो ब्रान्ड स्थापित गर्ने कलाकारको सुची पनि लामो छ। कोमल वली र सुनीता दुलाल यो सुचीको अग्रपङतीमा पर्छन्। पछिल्लो केही वर्षयता यी दुवै गायिकाको स्वर धेरै महिलाको मुखमा झुन्डिन थालेको छ। उनीहरुबाहेक राधिका हमाल, टिका पुन, मुना थापामगर, मञ्जु पौडेल, शोभा त्रिपाठीलगाएतका गायिकाको स्वर पनि निकै हिट छ। झन् यसपालीको तीजमा अक्सर लोकभन्दा आधुनिक गीतमा जमेका देविका बन्दना र रेखा शाहजस्ता गायिकाले पनि तीज गीत गाएर चर्चा बटुलेका छन्।


कोमलले यसपटकको तीजमा ‘हल्ला भो शिवजी, तिम्रो मेरो मायापिरिमको…’को गीत कोसेलीको रुपमा सार्वजनिक गरेकी छिन्। तीज गीतका शब्दका कारण चर्चासँगै विवाद पनि खेपिरहेकी कोमलको नयाँ गीतले पनि धेरैको ध्यान तानेको छ। आइतबारसम्म युट्युबमा यो गीत हेर्नेको संख्या १ लाख ६६ हजार पुगिसकेको छ। पवित्रा आचार्यले निर्देशन गरेको भिडियोमा कोमल आफैंले कम्मर मर्काएकी छिन्। हालसम्म अविवाहित रहनु पनि उनको गीत हिट हुनुको एउटा मुख्य कारण मानिन्छ।

‘चुप्प म्वाईं खाउँला, आमाको गालामा, माइतीघर गएर…’ सुनिता दुलालको स्वर रहेको यो गीतले पनि बजार पिटिरहेको छ। अघिल्ला वर्षहरुमा झैं यसपटक पनि तीज भाकामा सुनिताकै राज चल्ने यो गीतको लोकप्रियताबाट आँकलन गर्न सकिन्छ। महेश खड्काको शब्द र संगीत रहेको गीतको भिडियो युट्युबमा मात्र ७० हजारभन्दा बढिले हेरिसकेका छन्। सुनिताकै स्वर रहेको अर्को तीज भाका ‘चेलीबेटी आँगनमा नाच्न थाले लर्को…’ पनि रेडियो/टिभिमा निकै हिट भइरहेको छ। कुमार विवाहितको शब्दमा सुरेश अधिकारीले संगीत भरेका हुन्। गीतको अडियोसँगै भिडियो पनि धेरैले रुचाएका छन्। गोविन्द राईले निर्देशन गरेको भिडियोमा सुनिता आफैंले कम्मर मर्काएकी छिन्। जुन गवीत युट्युबमा हेर्नेको संख्या ९० हजार नाघिसकेको छ।

तीज गीतको सन्दर्भमा छुटाउनै नहुने अर्को नाम हो, शोभा त्रिपाठी। पछिल्लो चार-पाँच वर्ष यता शोकाको स्वर तीजको मौसममा धेरै रुचाइन थालेको छ। यसपटक उनले सार्वजनिक गरेको ‘रातो पासपोर्ट भाको नि भन्दिनँ…’ गीत चर्चामा छ। एकनारायण भण्डारीको शब्द र संगीत रहेको यो गीत दुई हप्ताको बीचमा युट्युबमा हेर्नेको संख्या १ लाख २० हजार नाघेको छ। सोलो स्वर रहेका कारण पनि शोभालाई यो गीतले निकै फाइदा पुराउने देखिएको छ।

मञ्जु पौडेललेको ‘आउन साथी ढल्केर नाच्नलाई, तिजै आयो कम्मरै भाँच्नलाई…’ तीजको मुखैमा हिट भएको अर्को गीत हो। मञ्जु पनि तीज भाकामा जर्वजस्त स्थापित र लोकपि्रय गायिका हुन्। यो गीतले उनलाई थप चर्चा दिलाउने पक्का छ। गीतको शब्द र संगीत पनि स्वयमः गायिकाकै हो। प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा दिपाश्री निरौलालगाएतका चर्चित महिला अनुहारले नाचेका छन्। त्यसैले गीतको भिडियो पनि हिट भइरहेको छ।

आधुनिक गायनमा जमेका देविका वन्दना र रेखा शाह पनि तीज भाकामा आकषिर्त भएका छन्। देविकाले ‘म त फुरुक्कै परें बरी लै…’ बोलको गीत नेपाली दिदीबहिनीलाई तीजको कोशेलीको रुपमा टक्राएकी छिन् भने रेखाले ‘रेशमी रातो सारी तिजैलाई साँचेको…’। यी दुवै गीतले लोकप्रियता हासिल गरेका छन्।


तीज गीतमा महिला स्वर मात्र होइन्, पुरुष स्वर पनि सुनिन थालेको छ। पुरुष गायनमा पशुपति शर्मा निकै अगाडी छन्। पशुपतिले देविका केसीसँग गाएको ‘बुहारीको पोई…’, टिका पुनसँग गाएको ‘मेरो त छोरीले…’ र जानकी मगर गाएको ‘साइकल किन्न जाम…’ ले दर्शक/श्रौताको मन जितिरहेको छ। यी सबै गीतमा उनले वर्तमान सामाजिक र पारिवारिक घटनामाथि ब्यंग्य कसेका छन्। खुमन अधिकारी र सरिता श्रेष्ठको संयुक्त स्वर रहेको ‘कत्ति मजा हो मलाई…’ र राम थापा, उमा श्रेष्ठ र पूर्णकला बिसीको ‘मेरो त बुढाले सौता हाले…’ ले पनि चर्चा बटुलिरहेका छन्। श्रीदेवी देवकोटा र प्रकाश कटुवालको ‘पिठउँमा कन्याईदेउ न बाई…’ बोलको गीतचाहीं विवादमा परेको छ। अश्लील र द्धविअर्थी लाग्ने शब्द प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ।


विदेशमा व्यस्त
तीजमा स्वदेशमा मात्र होइन्, विदेशमा पनि धेरै साँस्कृतिक कार्यक्रम हुन थालेको छ। जसका कारण कलाकारहरुको व्यस्तता हृवात्तै बढाएको छ। यसपटकको तीजको छेकोमा तीन चार वटा देशमा पुग्ने सेड्युल रहेका कलाकारको सुची लामो छ। पशुपति शर्मा तिनै मध्येका एक हुन्, पशुपति शर्मा। दुई साताअघि नेपाल छाडेका पशुपति हाल लन्डनमा छन्। त्यस्तै, अर्की चर्चित गायिका राधिका हमाल दुबई उड्ने तयारीमा छिन्। त्यहाँ केही दिन कार्यक्रम प्रस्तुत गरेपछि उनी जापान पुग्नेछिन्। उनले यसवपटकको तीज विदेशमै मनाउने बताइन। तर नेपालमा हुने कार्यक्रमका लागि पनि समय निकाल्ने प्रयासमा छिन् उनी।

राधिकाजस्तै टीका पुनलाई पनि यसपटकको तीजमा भ्याईनभ्याई छ। जापानको कार्यक्रम सकेर तीजका लागि उनी दिल्ली फिर्नेछिन्। यसपाली तीजका १५ गीत गाएकी उनी विदेशमा रहेका नेपाली दिदीबहिनीलाई दिल खोलेर नचाउने सुरुमा छिन्। सुनीता दुलाल र कोमल वलीले पनि झण्डै आधा दर्जन मुलुकमा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ। विदेशमा प्रति शो एउटा कलाकारले एक-डेढ लाख रुपियाँको हाराहारीमा पाउँछन्।

SUBSCRIBE 👉