
निर्देशक ओम प्रतीकको नयाँ नेपाली चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक जीवनका घटनाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्रले समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक सचेत र दृढ व्यक्तिको भूमिका कति महत्वपूर्ण हुन सक्छ भन्ने सन्देश दिने बताइएको छ।
गत वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेका ओम प्रतीकले यसपटक पनि सामाजिक विषयवस्तुमा आधारित कथा प्रस्तुत गरेका छन्। चलचित्रको कथा तथा निर्देशन स्वयं ओम प्रतीकले गरेका हुन्।
फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको अभिनय रहेको छ।
चलचित्रको विशेष आकर्षणका रूपमा समावेश गरिएको एक प्रमोशनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति रहेको छ। गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्।
व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल हुन् भने सह–निर्मात्री नम्रता भण्डारी रहेकी छन्।
चलचित्रमा राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन, शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको गीतले पनि दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
‘हली’को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
यो पनि पढ्नुहोस् : चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक, वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल
